जनता टाइम्स

२० आश्विन २०८३, मंगलवार २१:२९

चाडपर्वमा यात्रा कडाइ : यस्ता छन् ७ निर्णय


काठमाडौं, असोज २० । आगामी चाडपर्वलाई लक्षित गर्दै सरकारले यातायात व्यवस्थापनलाई सहज, सुरक्षित र व्यवस्थित बनाउन विभिन्न सात निर्णय गरेको छ।

चाडपर्वमा ठूलो संख्यामा यात्रु घर फर्किने भएकाले सार्वजनिक यातायातको व्यवस्थापन, सडक आवागमन, रुट परमिट, यात्रु विवरण अभिलेखीकरण तथा सवारीसाधनको फिटनेस जाँचमा विशेष व्यवस्था गर्ने निर्णय गरिएको हो।

बैठकले गरेका निर्णय यस्ता छन् :

१. असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ

मध्यम तथा लामो दूरीका सार्वजनिक यातायातका लागि असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गरिने भएको छ। चाडपर्वमा घर फर्किने यात्रुको सुविधालाई ध्यानमा राखेर यस्तो व्यवस्था गरिएको हो।

२. नारायणगढ–काठमाडौं सडकमा ठूला सवारीलाई रोक

घटस्थापना असोज २५ गतेदेखि कात्तिक ८ गते पूर्णिमासम्म नारायणगढदेखि काठमाडौंसम्म ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइने भएको छ। यसबाट सडकमा हुने जाम तथा आवागमनको समस्या कम गर्ने उद्देश्य राखिएको छ।

तर खाद्यान्न, औषधि, फलफूललगायत अत्यावश्यक सामग्री बोकेका सवारीसाधनलाई भने उक्त सडकखण्डमा आवतजावत गर्न रोक लगाइने छैन।

३. कात्तिक १० गतेसम्म रुट परमिट खुला

यात्रुवाहक सवारीसाधनको सहज सञ्चालनका लागि घटस्थापनादेखि पूर्णिमाको भोलिपल्ट अर्थात् कात्तिक १० गतेसम्म नेपालभर रुट परमिट खुला गरिने भएको छ।

४. प्रमुख नाकामा फोकल पर्सन परिचालन

काठमाडौं उपत्यकाका प्रमुख नाकामा यात्रु सहजीकरणका लागि यातायात व्यवस्था विभागले फोकल पर्सनसहितको टोली परिचालन गर्नेछ। यातायात व्यवसायीका तर्फबाट पनि सम्पर्क व्यक्ति खटाइने भएको छ।

५. नयाँ बसपार्कमा नेटवर्क क्षमता बढाइने

नयाँ बसपार्क क्षेत्रमा चाडपर्वका बेला मोबाइल नेटवर्कमा उच्च ट्राफिक हुने भएकाले टेलिकमलगायत सेवा प्रदायक कम्पनीलाई नेटवर्कको क्षमता अभिवृद्धि तथा विस्तारका लागि पत्राचार गरिने भएको छ।

६. रिजर्भ सवारी र यात्रुको विवरण अनिवार्य

चाडपर्वमा रिजर्भमा जाने सवारीसाधन र यात्रुको विवरण अभिलेखीकरण गरिने भएको छ। त्यसका लागि यातायात व्यवस्था विभागले नमुना फाराम तयार गरी व्यवसायीलाई उपलब्ध गराउनेछ।

व्यवसायीले उक्त फाराममा आवश्यक विवरण प्रविष्ट गरेपछि मात्र रिजर्भ यातायात सेवा सञ्चालन गर्नुपर्ने व्यवस्था गरिएको छ।

७. सवारीसाधनको फिटनेस जाँच

चाडपर्वका बेला सञ्चालन हुने सवारीसाधनको फिटनेस जाँच गर्न नाडा र सिप्रदीलाई अनुरोध गरिने भएको छ। विभागका तर्फबाट टेकुस्थित सवारी परीक्षण कार्यालयबाट प्राविधिक कर्मचारीसमेत खटाइने निर्णय भएको छ।