जनता टाइम्स

२० आश्विन २०८३, मंगलवार २१:४५

साउदीका लागि प्रस्तावित राजदूतमाथि रास्वपा सांसद खगेन्द्र सुनारलाई जोडेर लाग्यो गम्भीर आरोप


काठमाडौं, २० असोज । साउदी अरेबियाका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनारमाथि गम्भीर आरोप लगाउँदै संसदीय सुनुवाइ समितिमा उजुरी परेको छ।

प्रस्तावित राजदूत सुनारविरुद्ध परेको उजुरीमा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारलाई समेत जोडेर विभिन्न आरोप लगाइएको छ।

एक व्यक्तिले दिएको उजुरीमा दलित आन्दोलनका नाममा देश तथा विदेशबाट संकलन गरिएको रकम हिनामिना गरेको र त्यसको व्यवस्थापनमा प्रस्तावित राजदूत गिरीबहादुर सुनारको समेत संलग्नता रहेको दाबी गरिएको छ।

उजुरीमा खगेन्द्र सुनारले विभिन्न बैंक तथा परिवारका सदस्यका खातामा रकम जम्मा गर्दै आएको र पछिल्लो समय प्रस्तावित राजदूत गिरीबहादुर सुनारमार्फत रकम व्यवस्थापन गर्दै आएको आरोप लगाइएको छ। उजुरीमा कम्तीमा १० करोड रुपैयाँभन्दा बढी रकम हिनामिना गरिएको दाबीसमेत गरिएको छ।

यस्तै, उजुरीमा गिरीबहादुर सुनार ‘हाम्रो पार्टी नेपाल’का केन्द्रीय सदस्य रहेको दाबी गर्दै राजनीतिक कोटाबाट साउदीका लागि राजदूत सिफारिस गरिएको उल्लेख छ।

उजुरीमा सांसद खगेन्द्र सुनारसँगको सम्बन्धलाई लिएर गिरीबहादुर सुनारमाथि विभिन्न आरोपसमेत लगाइएको छ। त्यस्तै, खगेन्द्र सुनारविरुद्ध काभ्रे जिल्ला अदालतमा विचाराधीन विद्युतीय कारोबारसम्बन्धी मुद्दामा पेस गरिएको अडियो प्रमाण गायब पार्न गिरीबहादुर सुनारले भूमिका निर्वाह गर्नुभएको दाबी गरिएको छ।

उजुरीकर्ताले अदालतमा पेस गरिएको करिब तीन घण्टाको अडियो रहेको ८ जीबीको पेनड्राइभबाट प्रमाण गायब पारिएको र अहिले तीन मिनेटको अडियो मात्र रहेको आरोप लगाएका छन्।

सांसद सुनारसहितको समूहले गिरीबहादुर सुनारलाई राजदूत सिफारिस गर्न मन्त्रालयमाथि दबाब दिएको दाबी पनि उजुरीमा गरिएको छ।

सरकारले असोज २ गते बसेको मन्त्रिपरिषद् बैठकबाट १३ देशका लागि राजदूत सिफारिस गरेको थियो। सोही क्रममा साउदी अरेबियाका लागि गिरीबहादुर सुनारको नाम सिफारिस गरिएको थियो।

राजदूत नियुक्तिको प्रक्रिया अघि बढाउने क्रममा संसदीय सुनुवाइ समितिले प्रस्तावित राजदूतविरुद्ध सार्वजनिक उजुरी आह्वान गरेको थियो। त्यसक्रममा सुनारविरुद्ध उक्त उजुरी परेको हो।

उजुरीकर्ताले प्रस्तावित राजदूत सुनारमाथि सार्वजनिक रूपमा उठेका आरोप र विवादबारे नियुक्ति अनुमोदन गर्नुअघि निष्पक्ष तथा विस्तृत छानबिन गर्न माग गरेका छन्।