काठमाडौं, असोज २१ । नेपाली कांग्रेसको १५ महाधिवेशमा पदाधिकारीमा आवश्यक संख्याभन्दा तेब्बर उम्मेद्वारी परेको छ ।
निर्वाचन समितिका अनुसार सभापतिमा गगन थापा र किशोरसिंह राठोरसहित तीन जनाको उम्मेद्वारी पर्दा बरिष्ठ उपसभापतिमा बिश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसाल निर्बिरोध निर्वाचित हुनुभएको छ । कांग्रेसको संशोधित बिधानअनुसार १९ पदाधिकारी निर्वाचित हुने ब्यवस्था छ ।
जसमा सभापति १, वरिष्ठ उपसभापति एकसहित चार उपसभापति, महामन्त्री ३, सहमहामन्त्री १५, कोषाध्यक्ष १ गरी २४ जना पदाधिकारी हुने व्यवस्था गरिएको छ । सहमहामन्त्रीमा चार जना र कोषाध्यक्ष एक जना सभापतिले मनोनीत गर्ने व्यवस्था बिधानमा रहेको छ । त्यस अनुसार निर्वाचित हुने पदाधिकारी संख्या १९ जनाको हुनेछ ।
यो समाचार तयार पार्दासम्म सभापतिसहित पदाधिकारीमा १९ जना निर्वाचित हुने ब्यवस्था रहेकोमा पदाधिकारीका लागि ६० जना भन्दा बढीको उम्मेदवारी परेको छ । निर्वाचन समितिले उम्मेद्वारीमाथि छानविनपछि आधिकारिक जानकारी दिने बताएको छ । पार्टीको सर्वोच्च पद सभापतिमा गगन थापासपहत तीन जनाको उम्मेवारी परेको हो ।

सभापति पदमा बर्तमान सभापति थापा, पूर्वसहमहामन्त्री किशोरसिंह राठोर र श्यामकृष्ण खड्गीको उम्मेदवारी परेको हो ।सहमहामन्त्री राठोर पहिले देउवा समूहमा हुनुहुन्थ्यो । बर्दिया–२ का राठोर त्रिचन्द्र क्याम्पसमा स्ववियू सभापति हुँदा पार्टी सभापति गगन थापा विद्यार्थी संगठनको राजनीतिमा हुनुहुन्थ्या । सभापति थापाका बनस्थली स्कूलमा पढ्दा शिक्षक रहनुभएका खड्गी पनि अहिले उहाँकै प्रतिस्पर्धी बन्नुभएको छ ।
वरिष्ठ उपसभापतिमा भने बिश्वप्रकाश शर्मा निर्बिरोध बन्नुभएको छ । उहाँको बिरुद्धमा कसैले प्रतिस्पर्धा गर्न नचाहेको देखिएको हो । यस्तै उपाध्यक्ष ४ मध्ये महिलामा पुष्पा भुसाल निर्विरोध बन्नुभएको छ । उपाध्यक्ष समावेसी १ र खुलातर्फ २ पदमा आकांक्षी धेरै देखिएका छन ।
वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माको एकल उम्मदेवारी परेको र महिला उपसभापति पदमा पुष्पा भुसालको पनि एकल उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । शर्मा र भुसाल दुबै जना हाल उपसभापति पदमा नै रहनुभएको छ ।
गत पुसमा विशेष महाधिवेशन आह्वान गर्न तत्कालीन महामन्त्री शर्माले नेतृत्वदायी भूमिका खेल्नुभएको थियो । पहिले देउवा समूहमा रहनुभएकी भुसाल पनि विशेष महाधिवेशनको पक्षमा उभिएर उपसभापति बन्नुभएको हो ।

उपसभापति समावेशी क्लष्टरबाट हुने एक जनाका लागि विनोद चौधरी, जीवन परियार, फरमुल्ल्लाह मन्सुर, सीता गुरुङ र रञ्जित कर्णले उम्मेदवारी दिनुभएको छ । पूर्वसहहामन्त्री परियार गत वैशाखमा संस्थापन पक्षमा प्रवेश गर्नुभएको हो । उहा उपसभापति भुसालको नेतृत्वमा रहेको इलेक्सन व्यूरोको उप्रमुख एवं विधान मस्यौदा समितिको सदस्य रहेर काम गर्नुभएको छ ।
यस्तै उद्योगपति चौधरी विशेष महाधिवेशनमा पार्टीको नयाँ नेतृत्वसँग नजिकिनुभएको हो । गत निर्वाचनमा नवलपरासीबाट प्रतिस्पर्धा गर्नुभएका चौधरी पूर्वसभापति शेरबहादुर देउवाको कार्यकालमा केन्द्रीय सदस्य बन्नुभएको थियो । १४ औं महाधिवेशनमा देउवा पक्षबाट मुस्लिम क्लष्टरमा सहमहामन्त्री बन्नुभएका मन्सुर विशेष महाधिवेशन अघि नै सभापति थापासँग नजिकिनुभएको थियो ।
पूर्वमन्त्री सीता गुरुङले समावेशी क्लष्टरमा उपसभापति पदमा उम्मेदवारी दिनुभएको छ । अघिल्लो केन्द्रीय समितिमा रहनुभएकी गुरुङ महाधिवेशनको मुखैमा देउवा समुह त्यागेर संस्थापन पक्षमा खुल्नुभएको हो । यस्तै राष्ट्रिय सभा सदस्य रहेका रञ्जित कर्ण नेविसंघका पूर्व अध्यक्ष हुनुहुन्छ ।
खुलाबाट दुई जना उपसभापति हुने व्यवस्था छ । त्यसतर्फ डा. चन्द्र भण्डारी, डा. मिनेन्द्र रिजाल, देवराज चालिसे, मधु आचार्य, धनराज गुरुङ, डा. चन्द्रमोहन यादव, सुरेन्द्र पाण्डे, गोविन्द भट्टराई र दीपक गिरीले उम्मेदवारी दिनुभएको छ । कांग्रेसमा यो पदको प्रतिस्पर्धा निकै रोचक देखिएको छ ।
भण्डारी गत महाधिवेशनमा उपसभापतिमा पराजित हुनुभएको थियो । गत महाधिवेशनबाट उपसभापति निर्वाचित धनराज गुरुङ त्यही पदका लागि उम्मेदवार बन्नुभएको छ । अघिल्लो महाधिवेशनमा महामन्त्रीका प्रतिस्पर्धी डा.रिजाल खुलातर्फ उपसभापति पदमा उम्मेदवार बन्नुभएको छ ।
यस्तै प्रवक्ता चालिसे उपसभापतिको उम्मेदवार बन्नुभएको छ । चालिसे विशेष महाधिवेशनको अगुवा समेत हुनुहुन्छ । विशेष महाधिवेशनकै अर्का अगुवा मधु आचार्य पनि उपसभापतिको उम्मेदवार बन्नुभएको छ । उहाँ उपसभापति शर्मा नेतृत्वको नीति प्रतिष्ठानको उपप्रमुख समेत हुनुहुन्छ ।

यस्तै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डे पनि उपसभापतिको प्रतिस्पर्धी बन्नुभएको छ । गत महाधिवेशनमा देउवा पक्षमा रहनुभएका पाण्डे बिशेष महाधिवेशनपछि संस्थापनतिर लाग्नुभएको हो । प्रतिनिधि सभा सदस्य डा. चन्द्रमोहन यादव पनि खुला उपसभापति पदमा उम्मेदवार बन्नुभएको छ । उहाँ पूर्वराष्ट्रपति डा. रामबरण यादवका छोरा हुनुहुन्छ ।
महामन्त्रीमा पनि धेरै उम्मेद्वारी परेको छ । संशोधित विधानले एक महिला सहित तीन महामन्त्री हुने व्यवस्था गरेको छ । दुई जना खुला तर्फबाट छानिने छन् । महामन्त्रीद्धय प्रदीप पौडेल र गुरुराज घिमिरे सोही पदमा उम्मेदवार बन्दा सहमहामन्त्री उदय शमशेर राणा र पूर्वसांसद सुनिल शर्माले पनि महामन्त्री पदमा उम्मेदवारी दिनुभएको छ ।
यस्तै पूर्वकेन्द्रीय सदस्य एवं नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महर खुला महामन्त्री पदका उम्मेदवार बन्नुभएको छ । यसैगरी लुम्बिनीका सभापति अमरसिंह पुन र युवा विश्लेषक शंकर तिवारी, डा.प्रकाश उपाध्याय महामन्त्रीको उम्मेदवार बन्नुभएको छ ।महिलातर्फबाट एक महामन्त्रीका लागि तीन जनाको उम्मेदवारी परेको छ । डिला संग्रौला, महालक्ष्मी उपाध्याय डिना र रिता खनालले उम्मेदवारी दर्ता गर्नुभएको हो ।
१४ औं महाधिवेशनमा महालक्ष्मी ‘डिना’ले महिला क्क्लष्टरबाट सहमहामन्त्रीमा निर्वाचित हुनुभएको थियो भने संग्रौला केन्द्रीय सदस्य निर्वाचित हुनुभएको थियो । पूर्वसभापति शेरबहादुर देउवा समूहमा रहेकी दुवै नेतृ यसपटक एकै पदमा आमने सामने हुनुभएको हो ।
संग्रौला गत पुसमा भएको दोस्रो विशेष महाधिवेशनको पक्षमा लागेर सर्वसम्मत् नेतृत्व चयन गरी सहमहामन्त्री बन्नुभएको थियो । यस्तै १५ औं महाधिवेशनको निकटमा पूर्व सहमहामन्त्री डिना संस्थापनमा प्रवेश गर्नुभएको हो । संग्रौला र डिनासँगै प्रतिस्पर्धामा उत्रने अर्की नेतृ रिता खनाल पूर्वसभापति देउवाको कार्यकालमा कांग्रेसको राजनीति छोडनुभएको थियो । विशेष महाधिवशेनसँगै कांग्रेसमा प्रवेश गरेकी खनाल मकवानपुरकै हुनुहुन्छ ।
यस्तै सहमहामन्त्रीमा युवादेखि पाका नेतासम्मले उम्मेदवारी दिएका छन । संशोधित विधानबाट १५ जना सहमहामन्त्री हुने व्यवस्था छ । जसमा खुला २, आदिवासी जनजाति, दलित, मधेसी, खस आर्य, थारु, मुस्लिम, पिछडिएको क्षेत्र, अल्पसंख्यक÷ अपांगता क्लष्टरबाट १-१ हुने गरी ११ जना निर्वाचित हुनेछन् । ४ जना सभापतिले मनोनीत गर्ने व्यवस्था छ ।
सहमहामन्त्रीमा महिलातर्फ एक पदका लागि प्रतिमा गौतमको उम्मेदवारी परेको छ । पूर्वसांसद गौतम विशेष महाधिवेशनबाट केन्द्रीय कार्यसमितिमा भित्रिनुभएको हो । उहाँ विद्यार्थी राजनीति हुँदै पार्टी राजनीतिमा प्रवेश गर्नुभएको हो । सहमहामन्त्रीमा खुलातर्फ रामहरि खतिवडा, देवेन्द्रराज कंडेल, डिल्लिराम सुवेदी, रमेश धमला, अजयबाबु शिवाकोटी र विकास कोइरालाले उम्मेदवारी दिनुभएको छ । रामहरि खतिवडा राज्य व्यवस्था समितिका पूर्वसभापतिसमेत हुनुहुन्छ ।
१४ औं महाधिवेशनमा उहाँ खुलाबाट केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको थियो । पूर्व संस्थापनमा रहेका देवेन्द्रराज कँडेल पछिल्लो समय संस्थापनतर्फ ढल्किनुभएको थियो । यस्तै गण्डकी प्रदेश सांसद सुवेदीले खुलातर्फबाट सहमहामन्त्रीको उम्मेदवार बन्नुभएको छ । विद्यार्थी संगठनको राजनीतिबाट पार्टी राजनीतिमा आउनुभएका सुवेदी विशेष महाधिवेशन पक्षधर हुनुहुन्छ । विशेष महाधिवशेनबाट केन्द्रीय सदस्य बन्नुभएका रमेश धमला पनि खुला महामन्त्री पदको उम्मेदवार बन्नुभएको छ । उहाँ धादिङका पूर्वसभापति हुनुहुन्छ ।
यस्तै पिछडिएको क्षेत्रबाट एक जना सहमहामन्त्रीका लागि जीवनबहादुर शाही, मीन भाम र कर्णबहादुर बुढाको उम्मेदवारी परेको छ । शाही १४ औं महाधिवेशनमा यही क्लष्टरमा पराजित हुनुभएको थियो । शाहीको प्रतिस्पर्धीमा फिल्म निर्देशक मीन भाम उपसभापति शर्माको नेतृत्वमा रहेको नीति प्रतिष्ठानको सदस्य हुनुहुन्छ । बुढा विशेष महाधिवेशनबाट पिछडिएको क्षेत्रबाट सहमहामन्त्री बन्नुभएको थियो ।
यस्तै खस आर्यबाट सहमहामन्त्रीको एक पदमा सात जनाको उम्मेद्वारी परेको छ । अजयबाबु शिवाकोटी, रामहरि खतिवडा, अमृत अर्याल, दिनेश कोइराला, विमलराज क्षेत्री, देवेन्द्रराज कँडेल र डिल्लीराम सुवेदीले सो पदमा उम्मेद्वारी दिनुभएको छ ।केन्द्रीय सदस्य शिवाकोटी सभापति गगन थापाका बिशेष सहयोगी हुनुहुन्छ । यस्तै दिनेश कोइराला, नेविसंघका पूर्वमहामन्त्री मनोजमणि आचार्य, नुवाकोटका पूर्व सभापति जगदिश्वरनरसिंह केसी, शंकरदेव क्याम्पसमा पूर्वस्ववियू सभापति शुभराम बस्नेतले पनि सहमहामन्त्रीमा उम्मेदवारी दिनुभएको छ ।
सहमहामन्त्री पदका लागि आदिवासी जनजातिर्फ बहादुरसिंह लामा र तारामान गुरुङको उम्मेदवारी परेको छ । लामा विशेष महाधिवशेनबाट यही क्लष्टरमा सहमहामन्त्री बन्नुभएको थियो । विशेष महाधिवेशनबाट आएको नेतृत्वले गुरुङलाई अनुशासन समितिको प्रमुख बनाएको थियो ।
यसैगरी थारुबाट सहमहामन्त्रीमा तेजुलाल चौधरी र योगेन्द्र चौधरी प्रतिस्पर्धी हुनुहुन्छ । तेजुलाल पूर्व सांसद हुनुहुन्छ भने योगेन्द्र विशेष महाधिवेशनबाट थारु क्लष्टरको सहमहामन्त्री बन्नुभएको थियो । यस्ते अल्पसंख्यक क्लष्टरबाट आङगेलु शेर्पा, नगेन्द्र कुमाल र योगेश गौचनको उम्मेदवारी परेको छ ।
मुस्लिमबाट सहमहामन्त्रीमा अब्दुल सत्तार र अतहर कमाल मुसलमान र फिर्दाेस आलमको उम्मेदवारी परेको छ । सत्तार कांग्रेस भातृसंगठन नेपाल मुस्लिम संघका संस्थापक सभापति हुनुहुन्छ । लामो समय कांग्रेस राजनीतिमा बिताउनु भएका सत्तार कांग्रेसमा त्यागी नेताका रुपमा परिचित हुनुहुन्छ ।
यस्तै मधेसी समुदायबाट एक पदका लागि अभिषेक प्रताप शाह र रामपल्टन साहको उम्मेदवारी परेको छ । दलित क्लष्टरमा प्रकाश स्नेही रसाइली, लक्ष्मी परियार, मानबहादुर नेपाली र नरेन्द्र पासवानले सहमहामन्त्री पदमा उम्मेदवारी दिनुभएको छ ।












प्रतिक्रिया दिनुहोस्