जनता टाइम्स

२१ आश्विन २०८३, बुधबार ०७:३७

कांग्रेस महाधिवेशन : उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक (सूचीसहित)


काठमाडौं, असोज २१ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत विभिन्न पदमा उम्मेदवारी दिएका उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक भएको छ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिले बुधबार पदाधिकारीसहित विभिन्न पदका उम्मेदवारको प्रथम नामावली सार्वजनिक गरेको हो।

कांग्रेसको विधानअनुसार एक सभापति, एक वरिष्ठ उपसभापति, चार उपसभापति, तीन महामन्त्री, १५ सहमहामन्त्री र एक कोषाध्यक्ष गरी २५ पदाधिकारी रहने व्यवस्था छ। त्यसमध्ये चार सहमहामन्त्री र कोषाध्यक्ष सभापतिले मनोनयन गर्ने व्यवस्था भएकाले निर्वाचनबाट १९ जना पदाधिकारी चयन हुनेछन्।

निर्वाचन समितिले सार्वजनिक गरेको प्रारम्भिक नामावलीअनुसार १९ पदाधिकारीका लागि ३२ जनाको उम्मेदवारी परेको छ।

सभापति पदमा गगनकुमार थापा, पूर्वसहमहामन्त्री किशोरसिंह राठौर र श्यामकृष्ण खड्गीले उम्मेदवारी दिएका छन्।

वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्माको मात्रै उम्मेदवारी परेको छ। यस्तै, महिला उपसभापति पदमा पुष्पा भुसालको एकल उम्मेदवारी परेको छ। दुवै जना यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन्।

निर्वाचन समितिले प्रारम्भिक नामावलीउपर दाबी–विरोधका लागि बुधबार बिहान १० बजेदेखि १२ बजेसम्मको समय तोकेको छ।

दाबी–विरोधको प्रक्रिया सकिएपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन समितिले जनाएको छ।