जनता टाइम्स

२१ आश्विन २०८३, बुधबार ०७:४५

नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज बस्दै


काठमाडौं, असोज २१ । नेपाल र रुसबीचको द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज काठमाडौंमा हुँदैछ। कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्ष मनाइरहेका बेला हुन लागेको बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव अमृतबहादुर राईले र रुसी प्रतिनिधिमण्डलको नेतृत्व नेपाल भ्रमणमा रहनुभएका रुसी उपविदेशमन्त्री आन्द्रेई रुडेन्कोले गर्नुहुनेछ।

नेपाल र रुसबीच नियमित परामर्श तथा द्विपक्षीय, क्षेत्रीय र अन्तर्राष्ट्रिय विषयमा विचार आदानप्रदान गर्ने उद्देश्यले सन् १९९५ मा परामर्शसम्बन्धी प्रोटोकलमा हस्ताक्षर भएको थियो। संयन्त्रको पहिलो बैठक सन् २००७ मा मस्कोमा र दोस्रो बैठक सन् २०१८ अप्रिल १७ मा काठमाडौंमा भएको थियो।

आजको बैठकमा नेपाल–रुस सम्बन्धको समग्र अवस्थाको समीक्षा गर्दै व्यापार, लगानी, पर्यटन, शिक्षा, संस्कृति तथा प्राविधिक सहयोगलगायतका क्षेत्रमा सहकार्य विस्तारका विषयमा छलफल हुने अपेक्षा गरिएको छ। क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मामिला र बहुपक्षीय मञ्चमा सहकार्यका विषय पनि बैठकमा उठ्नेछन्।

यसअघि मंगलबार साँझ काठमाडौंस्थित रुसी दूतावासले आयोजना गरेको ‘ओपन डाइलग’मा उपविदेशमन्त्री रुडेन्कोले बाढीबाट नेपालमा भएको जनधनको क्षतिप्रति नेपाल सरकार र नेपाली जनताप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको थियो।

उहाँले प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको महासभामा जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको जोखिमबारे उठाउनुभएको विषयको प्रशंसा गर्दै जलवायु परिवर्तन विश्वका लागि ‘अलार्म बेल’ भएको बताउनुभएको थियो।

नेपालले विपद् भोगिरहेका बेला रुस आफ्नो क्षमताअनुसार सहयोग गर्न तयार रहेको उहाँले बताउनुभयो। रुस आफैँ विभिन्न चुनौतीसँग जुधिरहेको भए पनि नेपाललाई आवश्यक सहयोगका लागि सम्भव सबै प्रयास गर्न तयार रहेको उहाँको भनाइ थियो।

ओपन डाइलगमा उहाँले नेपाली विद्यार्थीलाई उच्च शिक्षाका लागि रुसमा अध्ययन गर्ने अवसरबारे जानकारी दिँदै आगामी शैक्षिक वर्षमा नेपाली विद्यार्थीका लागि ५२ वटा छात्रवृत्ति कोटा उपलब्ध गराउने बताउनुभयो।

शिक्षा, संस्कृति तथा जनस्तरको सम्बन्धलाई नेपाल–रुस सम्बन्धको महत्वपूर्ण आधारका रूपमा उल्लेख गर्दै उपविदेशमन्त्री रुडेन्कोले यी क्षेत्रमा सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

उहाँको नेपाल भ्रमणका क्रममा नेपाली नागरिक रुसी सेनामा भर्ती भएको विषय, बेपत्ता तथा मृत्यु भएका नेपालीका परिवारलाई क्षतिपूर्तिलगायतका विषयमा पनि नेपाली पक्षले छलफलमा उठाउने अपेक्षा गरिएको छ।

त्यस्तै, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय चासोका विषयमा बहुपक्षीय मञ्चमा नेपालसँग सहकार्य गर्ने प्रतिबद्धता पनि रुडेन्कोले व्यक्त गर्नुभएको छ। मस्कोले नेपालसँगको कूटनीतिक सम्बन्धलाई उच्च प्राथमिकता दिएको उहाँले बताउनुभएको थियो।