काठमाडौं, असोज २१ । संरक्षित वन्यजन्तु भालुको पित्त र हात्तीको दाह्रासहित प्रहरीले काठमाडौं र सिन्धुलीबाट तीन जनालाई पक्राउ गरेको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लैनचौरबाट खटिएको टोलीले भालुको पित्तसहित नवलपरासीका योगेन्द्रप्रसाद चौधरी तथा हात्तीको दाह्रासहित सिन्धुलीका सोमबहादुर माझी र महोत्तरीका चित्रबहादुर विश्वकर्मालाई पक्राउ गरेको हो।
सीआईबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक अनुपमशमशेर राणाका अनुसार चौधरीलाई काठमाडौंको सोह्रखुट्टेबाट भालुको पित्तसहित पक्राउ गरिएको हो। माझी र विश्वकर्मालाई सिन्धुलीको कमलामाई क्षेत्रबाट हात्तीको दाह्रासहित पक्राउ गरिएको उहाँले जानकारी दिनुभयो।
प्रहरीले चौधरीको साथबाट १४० ग्रामको भालुको पित्त एक थान तथा माझी र विश्वकर्माको साथबाट ६ किलोग्राम हात्तीको दाह्रा बरामद गरेको जनाएको छ।
पक्राउ परेका चौधरीलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि डिभिजन वन कार्यालय हात्तीसार, काठमाडौं पठाइएको छ। माझी र विश्वकर्मालाई डिभिजन वन कार्यालय सिन्धुलीमा बुझाइएको सीआईबीले जनाएको छ।












प्रतिक्रिया दिनुहोस्