जनता टाइम्स

२१ आश्विन २०८३, बुधबार ०७:५९

डा. मिनेन्द्र रिजालले गगनलाई भेटे, उपसभापतिको उम्मेदवारी फिर्ता लिँदै


काठमाडौं, असोज २१ । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले पार्टीको १५औँ महाधिवेशनमा उपसभापति पदमा दिएको उम्मेदवारी फिर्ता लिने हुनुभएको छ।

सभापतिका उम्मेदवार गगन थापासँग संवाद गरेपछि रिजालले उम्मेदवारी फिर्ता लिने निर्णय गर्नुभएको हो। उहाँले आज उम्मेदवारी फिर्ता लिने जनाइएको छ।

रिजालले थापासँग भएको संवादको भिडियो सार्वजनिक गर्दै आफू उपसभापतिको आकांक्षाबाट अलग भएको बताउनुभएको छ।

उहाँले भन्नुभएको छ, ‘अहिले म आकांक्षीको रहरबाट अलग भएँ, बाँकी कुरा सभापतिले पार लगाउनेमा ढुक्क छु।’

रिजालले आफू विशेष महाधिवेशनको पक्षमा नरहेको बताउँदै विशेष महाधिवेशनबाट सभापति बनेपछि थापासँग आफ्नो सम्पर्क टुटेको उल्लेख गर्नुभएको छ। अदालतको फैसला सम्मान गर्नुको विकल्प नभएको उहाँको भनाइ छ।

उहाँले कांग्रेसमा पुनः जोडिनुको विकल्प नरहेको बताउनुभएको छ।

रिजालसँगको संवादपछि सभापतिका उम्मेदवार थापाले सबै नेताको क्षमताअनुसार जिम्मेवारी व्यवस्थापन गर्ने आफ्नो धारणा र मान्यता कायम रहेको बताउँदै रिजाललाई धन्यवाद दिनुभएको छ।