जनता टाइम्स

२१ आश्विन २०८३, बुधबार ०८:१४

वाग्मतीसहित चार प्रदेशमा भारी वर्षाको सम्भावना


काठमाडौं, असोज २१ । देशका केही स्थानमा आज भारी वर्षाको सम्भावना रहेको छ। मौसम विज्ञान विभागका अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका साथै वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा दिउँसो भारी वर्षाको सम्भावना छ।

दिउँसो देशका हिमाली र पहाडी भूभागमा साधारणतया बदली रहनेछ। वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा पनि साधारणतया बदली रहने तथा बाँकी तराई भूभागमा आंशिक बदली रहने विभागले जनाएको छ।

हिमाली भूभागका थोरै स्थान तथा पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षाको सम्भावना रहेको छ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा मधेससहित कोसी, वाग्मती र गण्डकी प्रदेशका तराई भूभागका थोरै स्थानमा पनि मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षा हुनसक्ने विभागले जनाएको छ।

राति कोसी प्रदेशका सबै भूभाग तथा देशका हिमाली र पहाडी क्षेत्रमा साधारणतया बदली रहनेछ भने तराई भूभागमा आंशिक बदली रहनेछ। तराईका केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना पनि रहेको छ।

राति हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात हुनसक्ने विभागले जनाएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

त्यस्तै, देशका तराई भूभागका एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा हुनसक्ने विभागले जनाएको छ।

विभागका अनुसार हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव रहेको छ।