जनता टाइम्स

२१ आश्विन २०८३, बुधबार १८:३२

बिदेश पठाउने भन्दै ठगी गरेको आरोपमा गणेश पाण्डे पक्राउ


काठमाडौं, असोज २१ । दक्षिण कोरिया पठाइदिने प्रलोभन देखाई ठगी गरेको आरोपमा ‘न्यू सफल ग्लोबल कन्सल्टेन्सी’ का सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले कन्सल्टेन्सीका सञ्चालक २८ वर्षीय गणेश पाण्डेलाई रानीबारी चोकबाट नियन्त्रणमा लिएको हो। नुवाकोटको बेलकोटगढी नगरपालिका ११ स्थायी घर भई हाल काठमाडौंको सामाखुसी बस्दै आएका पाण्डेलाई हिजो पक्राउ गरिएको हो ।

न्यू सफल ग्लोबल कन्सल्टेन्सीले आफ्नो छोरालाई कोरिया पठाइदिने भन्दै रकम लिएर विगत २ वर्षदेखि अलपत्र पारेको भन्दै पीडित महिलाले टिकटकमा भिडिओ हालेकी थिइन् ।

उनले भिडिओमा न्याय माग्दै र दोषीमाथि कारबाहीका लागि प्रधानमन्त्री तथा गृहमन्त्रीसमक्ष गुहारेकी थिइन् । उक्त भिडियो सार्वजनिक भएसँगै अपराध अनुसन्धान कार्यालयले सूक्ष्म अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानका क्रममा ठगी गरेको पाइएपछि पाण्डेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।