काठमाडौं, २१ असोज । काठमाण्डौमा चलिरहेको नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत कार्यसमिति चयनका लागि भोलि बिहीवार बिहान १० बजेदेखि मतदान हुने भएको छ ।
यसअघि बिहीवार बिहान ७ बजेदेखि मतदानको कार्यक्रम सार्वजनिक भए पनि वर्षा र प्राविधिक कारणले मतदान ढिला गरी शुरू गर्न लागेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
मतदानका लागि काठमाण्डौका तीन ठाउँमा सात मतदान केन्द्र तोकिएको छ । महाधिवेशनमा सहभागी ७ हजार २५५ प्रतिनिधिले कांग्रेसको आउँदो नेतृत्व चयनका लागि मतदान गर्दैछन् ।
निर्वाचन समितिले राष्ट्रिय सभागृहमा बागमती प्रदेशका प्रतिनिधिले मतदान गर्ने व्यवस्था गरेको छ ।
यसैगरी खुलामञ्चमा कोशी, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रतिनिधिले मतदान गर्नेछन् । भ्रातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिबाट महाधिवेशन प्रतिनिधि बनेकाले पनि खुलामञ्चमै मतदान गर्ने व्यवस्था छ ।
यस्तै प्रज्ञा भवनमा गण्डकी र लुम्बिनी प्रदेशका प्रतिनिधिका लागि मतदान केन्द्र तोकिएको छ ।












प्रतिक्रिया दिनुहोस्