काठमाडौं, असोज २१ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले आफूलाई फसाउन प्रहरी नेतृत्व र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लागेको आरोप लगाउनुभएको छ ।
संघीय संसद्को सार्वजनिक लेखा समितिअन्तर्गत म्यादी प्रहरीको पोसाक खरिदमा भएको अनियमितताबारे छानबिन गर्न गठित उपसमितिको पहिलो बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो ।
उहाँका अनुसार उपसमितिले छानबिनका लागि कार्यविधि तय गर्दै नेपाल प्रहरी, सशस्त्र प्रहरी, सुरक्षा संयन्त्र र गृह प्रशासनबाट प्राप्त कागजातको प्रारम्भिक अध्ययन गरेको छ । अब खरिद प्रक्रियासँग जोडिएका व्यक्तिहरूलाई बोलाएर सोधपुछ गर्ने र थप प्रमाण जुटाउने काम अघि बढाइने उहाँले बताउनुभयो ।
आफूमाथि साउदी अरेबियाको राजदूत नियुक्तिमा १० करोड रुपैयाँ लेनदेन गरेको आरोप लागेको विषयमा उहाँले त्यसको खण्डन गर्नुभयो । दलित आन्दोलनका नाममा उठाइएको भनिएको रकमबारे समेत टिप्पणी गर्दै उहाँले नागरिकता र राहदानीबाहेक आफ्नो नाममा एक कित्ता जग्गासमेत नरहेको दाबी गर्नुभयो ।
प्रहरी नेतृत्वको अनियमितताबारे छानबिन अघि बढाएपछि आफूलाई बदनाम गराउन प्रहरी प्रधान कार्यालय र सीआईबी सक्रिय भएको उहाँको आरोप छ । प्रहरी महानिरीक्षकको कार्यकक्षसँगै जोडिएको कोठाबाट आफूविरुद्ध साइबर अभियान चलाइएको दाबी गर्दै उहाँले प्रहरी नेतृत्व आफूलाई बदनाम गरेर उम्कन खोजेको बताउनुभयो ।
सीआईबीले निजी नम्बरबाट फोन गरेर आफ्नाबारे सूचना संकलन गरिरहेको र केही प्रहरी अधिकारी आफूलाई फसाउने योजनामा लागेको जिकिर पनि उहाँले गर्नुभयो । आफ्नो घरमा छापा मार्न सीआईबीलाई चुनौती दिँदै उहाँले प्रहरी नेतृत्व र पूर्वप्रधानन्यायाधीशको निवासमा समेत छापा मार्ने हिम्मत देखाउनुपर्ने बताउनुभयो ।
आफूमाथि संसद्मा औपचारिक उजुरी परेको अवस्थामा सांसदको लोगो फुकालेर छानबिनको सामना गर्न तयार रहेको उहाँले स्पष्ट पार्नुभयो । आफू दोषी ठहरिए कारबाही भोग्न तयार रहेको बताउँदै उहाँले प्रहरी नेतृत्वले आफूलाई दोषी देखाउन खोजे त्यसको पनि निष्पक्ष छानबिन हुनुपर्ने माग गर्नुभयो ।
राज्य संयन्त्रको दुरुपयोग गरेर आफूलाई तर्साउन खोजिए पनि पछि नहट्ने उहाँले बताउनुभयो । म्यादी प्रहरीको पोसाक खरिदमा भएको भनिएको आर्थिक अनियमितताको तथ्य बाहिर ल्याएरै छाड्ने उहाँको दाबी छ ।












प्रतिक्रिया दिनुहोस्