जनता टाइम्स

२१ आश्विन २०८३, बुधबार २०:३६

एन्फा अध्यक्ष र महासचिवसहित चारजनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस


काठमाडौं, असोज २१ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईसहित चारजनाविरुद्ध मुद्दा चलाउन प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सिफारिस गरेको छ ।

खेल मिलेमतो तथा ठगीसम्बन्धी कसुरमा गरिएको अनुसन्धान प्रतिवेदन बुधबार सीआईबीले सरकारी वकिलको कार्यालयमा बुझाएको हो । सीआईबीले अध्यक्ष नेम्वाङ, महासचिव राई, कोषाध्यक्ष रविन्द्र जोशी र लेखापाल सञ्जीव पाण्डेलाई प्रतिवादी बनाउन सिफारिस गरेको प्रवक्ता अनुपम शमशेर जबराले जानकारी दिनुभयो ।

सीआईबीका अनुसार उनीहरूबाट ६६ लाख ५३ हजार रुपैयाँ अनियमितता भएको निष्कर्ष निकालिएको छ ।

सीआईबीले असोज २ गते एन्फा मुख्यालयमा छापा मार्दै कोषाध्यक्ष जोशी र लेखापाल पाण्डेलाई पक्राउ गरेको थियो । उनीहरू पक्राउ परेपछि एन्फाका अध्यक्ष नेम्वाङ र महासचिव राई सम्पर्कविहीन रहेको जनाइएको छ ।

एन्फाविरुद्ध राष्ट्रिय हित र प्रतिष्ठाविपरीत हुने गरी होम गेम बिक्री गरेको, राष्ट्रिय खेलकुद परिषद् (राखेप) को निर्देशन अवज्ञा गरेको, अवैध भत्ता वितरण गरेको तथा महिला साफ गेममा होटल दररेटमा कमिसन र भ्रष्टाचार गरेको आरोपसहित उजुरी परेको थियो ।

त्यस्तै, स्वीकृतिबिनै वैदेशिक भ्रमण गरेको, अनुदान रकम दुरुपयोग गरेको र अनावश्यक नियुक्ति गरेको विषयमा समेत छानबिन गर्न माग गरिएको थियो ।

विभिन्न समयमा भएका टेन्डर प्रचलित कानुनबमोजिम नगरेको तथा विभिन्न प्रतियोगितामा मार्केटिङ, डिजिटल, ब्रोडकास्टिङ र टिकटिङ राइट दिँदा अनियमितता गरेको आरोपसमेत उजुरीमा उल्लेख थियो ।

तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले जुन २४ देखि एन्फालाई निलम्बन गरेको छ ।