जनता टाइम्स

२१ आश्विन २०८३, बुधबार २०:४७

आशिकाको स्पष्टीकरण : थोमस पशुपतिनाथको ढोकासम्म मात्र पुगेका हुन्, भित्र छिरेका छैनन्


काठमाडौं, असोज २१ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले आफ्ना जर्मन श्रीमान थोमसलाई पशुपतिनाथ मन्दिरभित्र प्रवेश गराएको भन्ने आरोपको खण्डन गर्नुभएको छ ।

पशुपतिनाथ मन्दिरमा प्रवेशलाई लिएर गैरहिन्दु दम्पती पक्राउ परेपछि सामाजिक सञ्जालमा आफ्नो तस्बिरसमेत चर्चामा आएपछि सांसद तामाङले स्पष्टीकरण दिनुभएको हो ।

उहाँले केही दिनअघि श्रीमान थोमसलाई लिएर पशुपतिनाथ पुगे पनि आफू मात्रै मन्दिरभित्र प्रवेश गरेको बताउनुभएको छ । थोमस मन्दिरको मूल ढोकासम्म मात्रै पुगेको र गैरहिन्दुलाई मन्दिरभित्र प्रवेश गर्न नदिने धार्मिक नियमको पूर्ण पालना गरिएको उहाँको भनाइ छ ।

सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिँदै उहाँले पुजारीले आफूलाई माला, खादा र टीका प्रदान गर्नुभएको र थोमसका लागि पनि छुट्टै भाग दिएको बताउनुभएको छ । आफू मन्दिरबाट बाहिर आएपछि श्रीमानलाई माला र टीका लगाइदिएको उहाँले स्पष्ट पार्नुभएको छ ।

उहाँले गैरहिन्दुलाई मन्दिरभित्र प्रवेशमा रोक लगाउने नियमबारे सुरक्षाकर्मीबाट आफूले जानकारी पाएको उल्लेख गर्नुभएको छ । भारतीय कांग्रेस नेतृ सोनिया गान्धी नेपाल भ्रमणका क्रममा पशुपतिनाथ आउँदा मन्दिरभित्र प्रवेश गर्न नपाएको प्रसंगसमेत उहाँले उल्लेख गर्नुभएको छ ।

‘आफ्नो–आफ्नो धर्मको नियम हुन्छ, संविधानका विधानजस्तै धर्मका पनि विधान हुन्छन्, जसलाई हामीले सकारात्मक रूपमा लिनुपर्छ,’ उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ ।

पशुपतिनाथ मन्दिरको बाहिरी परिसरमा गैरहिन्दुलाई प्रवेश निषेध नभएको उल्लेख गर्दै उहाँले मन्दिरको स्थापित धार्मिक नियम उल्लङ्घन नगरेको दाबी गर्नुभएको छ । सामाजिक सञ्जालमा भइरहेको चर्चाप्रति टिप्पणी गर्दै उहाँले अनावश्यक भ्रम नफैलाउन आग्रह गर्नुभएको छ ।