जनता टाइम्स

२१ आश्विन २०८३, बुधबार २०:५२

तीनकुने आन्दोलनमा चार सुरक्षा अधिकारीलाई विभागीय कारबाही सिफारिस


काठमाडौं, असोज २१ । राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ गते तीनकुनेमा भएको राजावादी आन्दोलनका क्रममा सुरक्षा योजना प्रभावकारी रूपमा कार्यान्वयन गर्न नसकेको भन्दै चार सुरक्षा अधिकारीलाई विभागीय कारबाही गर्न सिफारिस गरेको छ ।

आयोगले मंगलबार सार्वजनिक गरेको घटनासम्बन्धी प्रतिवेदनमा काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारीसहित नेपाल प्रहरी र सशस्त्र प्रहरीका अधिकारीमाथि कारबाही गर्न सिफारिस गरेको हो ।

कारबाही सिफारिस हुनेमा काठमाडौंका तत्कालीन प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारी, प्रहरी उपरीक्षक (एसपी) अपीलराज बोहोरा, सशस्त्र प्रहरीका एसपी शैलेन्द्र श्रेष्ठ र तत्कालीन प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी हुनुहुन्छ । विश्व अधिकारी हाल प्रहरी नायब महानिरीक्षक (डीआईजी) हुनुहुन्छ ।

आयोगले संविधानको धारा २४९ को उपधारा २ को (ख) बमोजिम उनीहरूमाथि विभागीय कारबाही गर्न सम्बन्धित अधिकारीसमक्ष सिफारिस गरेको जनाएको छ ।

आयोगको प्रतिवेदनअनुसार आन्दोलनका क्रममा सुरक्षा योजना प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको विषयलाई आधार बनाएर चारै जना अधिकारीमाथि विभागीय कारबाहीको सिफारिस गरिएको हो ।