काठमाडौं, असोज २१ । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले मुलुक अप्ठेरो अवस्थामा रहेका बेला कांग्रेस फुट्न, छुट्न वा विचारमा विभाजित हुन नहुने बताउनुभएको छ ।
बुधबार कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बन्दसत्रमा सम्बोधन गर्दै उहाँले एल्गोरिदम र सस्तो लोकप्रियताका भरमा आएका तत्त्वहरूले मुलुकलाई कुन बेला दुर्घटना वा युक्रेनजस्तो परिस्थितिमा पुर्याउँछन् भन्ने ठेगान नभएको बताउनुभयो ।
उहाँले महाधिवेशनमा युवा प्रतिनिधिदेखि ८० वर्ष नाघेका ज्येष्ठ नागरिकसम्मले देखाएको भरोसालाई आत्मसात् गर्दै कांग्रेस अघि बढ्नुपर्ने बताउनुभयो । केवल नेतृत्व वा अनुहार परिवर्तन गर्दैमा पार्टीको दिगो विकास नहुने भन्दै उहाँले नीति, सिद्धान्त, संस्थागत प्रणाली र क्रियाशीलतामा परिवर्तन ल्याउन सके कांग्रेसले युगौँसम्म देशलाई दिशानिर्देश गर्न सक्ने धारणा राख्नुभयो ।
नेता आङदेम्बेले कांग्रेसलाई केवल सरकार बनाउने र सत्ता प्राप्त गर्ने माध्यमका रूपमा सीमित नराखी मुलुकको समृद्धि, समुन्नति र परिवर्तनका सोच कार्यान्वयन गर्ने सशक्त पार्टीका रूपमा विकास गर्नुपर्ने बताउनुभयो ।
उहाँले पार्टीलाई सिङ्गो र एकढिक्का बनाएर लैजाने प्रयासलाई समर्थन गर्दै आफूले कुनै पनि पदमा उम्मेदवारी नदिएको स्पष्ट पार्नुभयो । आफू पदमा नरहे पनि संसद र सडकमा कांग्रेसको बलियो र प्रखर आवाज बनेर निरन्तर उभिइरहने उहाँको भनाइ छ ।












प्रतिक्रिया दिनुहोस्