काठमाडौं, असोज २१ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि बिहीबार हुने मतदानको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन समितिले जनाएको छ ।
निर्वाचन समिति संयोजक प्रेमबहादुर खड्काका अनुसार मतदानका लागि तीन स्थानमा मतदान केन्द्र व्यवस्थापन गर्ने तयारी गरिएको छ । बिहान १० बजेदेखि सुरु हुने मतदानका लागि आवश्यक मतपेटिका ल्याइसकिएको छ भने करिब ५०० मतदान अधिकृत खटिने भएका छन् ।
संयोजक खड्काले मतदानको करिब ८० प्रतिशत तयारी पूरा भएको जानकारी दिनुभयो । बाँकी काम रातभर भए पनि सम्पन्न गरिने उहाँले बताउनुभयो ।
कांग्रेस महाधिवेशनमा मतदानका लागि प्रतिनिधिले २३ वटा मतपत्र प्रयोग गर्नुपर्नेछ । क्षेत्र, प्रदेश र विभिन्न क्लस्टरअनुसार मतपत्र छुट्टाछुट्टै राखिएको निर्वाचन समितिले जनाएको छ ।
मतदानका लागि एक जना प्रतिनिधिलाई कम्तीमा आधा घण्टादेखि ४५ मिनेटसम्म लाग्न सक्ने संयोजक खड्काले बताउनुभयो । मतपत्रको संख्या धेरै भएकाले मतदान प्रक्रिया केही लामो हुने उहाँको भनाइ छ ।
मतदानको समय बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म तोकिएको छ । तर, तोकिएको समयभित्र मतदानका लागि लाइनमा बसेका प्रतिनिधिलाई समेत मतदानको अवसर दिने गरी आवश्यकताअनुसार समय व्यवस्थापन गरिने उहाँले बताउनुभयो ।
मतदानस्थल राष्ट्रिय सभागृह, खुलामञ्च र कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा राख्ने तयारी गरिएको छ । वाग्मती प्रदेशका प्रतिनिधिका लागि राष्ट्रिय सभागृहमा तथा मधेस र सुदूरपश्चिम प्रदेशका लागि खुलामञ्चमा मतदान केन्द्र राखिनेछ । कोशीसहित अन्य प्रदेशका प्रतिनिधिका लागि प्रज्ञा–प्रतिष्ठानमा मतदानको व्यवस्था गरिने निर्वाचन समितिले जनाएको छ ।
उम्मेदवारको संख्या घटे मतदान प्रक्रिया सहज हुने भएकाले नेताहरूले सकेसम्म सहमति जुटाउने प्रयास गरिरहेको बताएका छन् ।
सभापतिमा प्रारम्भमा तीन जनाको उम्मेदवारी परे पनि किशोरसिंह राठौरले उम्मेदवारी फिर्ता लिएपछि गगनकुमार थापा र श्यामकृष्ण खड्की प्रतिस्पर्धामा हुनुहुन्छ ।
निर्वाचन समितिका संयोजक खड्काका अनुसार खड्कीले उम्मेदवारी फिर्ता लिने बताउनुभएको भए पनि अहिलेसम्म औपचारिक रूपमा फिर्ता लिनुभएको छैन ।
महाधिवेशनमा खुलातर्फ केन्द्रीय सदस्य पदमा सबैभन्दा धेरै उम्मेदवारी परेको उहाँले जानकारी दिनुभयो । मतदानपछि मतगणना ललितपुरस्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा गर्ने तयारी गरिएको छ ।












प्रतिक्रिया दिनुहोस्