जनता टाइम्स

२१ आश्विन २०८३, बुधबार २१:०९

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा छापाबारे बोल्यो सरकार


काठमाडौं, असोज २१ । सरकारले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको घरमा सम्पत्ति शुद्धीकरण विभागले गरेको खानतलासीलाई नियमित काम भएको बताएको छ ।

सरकारका प्रवक्ता सस्मित पोखरेलले सरकारी निकायले गर्ने नियमित काममा सरकारको कुनै हस्तक्षेप नहुने बताउनुभयो ।

उहाँले राणाको निवासमा भएको गतिविधिबारे सम्पत्ति शुद्धीकरण विभागले नै जवाफ दिने बताउँदै यो सरकारी निकायले गर्ने नियमित प्रक्रिया भएको स्पष्ट पार्नुभयो ।

‘उहाँको घरमा भएका गतिविधिबारे सम्पत्ति शुद्धीकरण विभागले नै जवाफ दिनेछ । यो सरकारी निकायले गर्ने नियमित काम हो । यसमा सरकारको कुनै हस्तक्षेप हुँदैन,’ उहाँले भन्नुभयो ।

सम्पत्ति शुद्धीकरण विभागले बुधबार राणासहित उनीसँग सम्बन्धित पाँच जनाको घरमा एकसाथ खानतलासी गरेको थियो ।

यसअघि असोज ११ गते राणालाई पक्राउ गरी अपराध अनुसन्धान कार्यालयमा राखिएको थियो । चौतर्फी विरोध भएपछि सरकारले सुरक्षाको कारण देखाउँदै उहाँलाई प्रहरी कार्यालयमा ल्याइएको स्पष्टीकरण दिएको थियो ।

त्यसैक्रममा बुधबार राणाको निवासमा समेत खानतलासी गरिएको हो ।