जनता टाइम्स

२२ आश्विन २०८३, बिहीबार ०८:४९

तोकिएकोभन्दा बढी गाडीभाडा लिए कारबाही हुने


काठमाडौं, असोज २२ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले चाडपर्वको समयमा सरकारले तोकेकोभन्दा बढी गाडीभाडा नलिन यातायात व्यवसायीलाई आग्रह गरेको छ ।

महासङ्घका महासचिव डेकनाथ गौतमले तोकिएकोभन्दा बढी भाडा लिने सवारीसाधनमाथि कारबाही हुने बताउनुभएको छ । यस वर्षको दशैँका लागि भोलिदेखि यात्रुवाहक सवारीसाधनको अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय भइसकेको छ ।

यात्रु तथा मालवाहक यातायात सञ्चालनलाई सहज, व्यवस्थित र सुरक्षित बनाउन यातायात व्यवस्था विभाग, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ, मजदुर सङ्घ–सङ्गठन, प्रहरी प्रधान कार्यालय र उपत्यका ट्राफिक प्रहरी कार्यालयबीचको समन्वयमा अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरिएको हो ।

महासङ्घले सातै प्रदेश, जिल्ला समिति तथा सदस्य सङ्घ–संस्था र काठमाडौंको गोङ्गबु बसपार्कमा कार्यरत शाखा प्रमुख तथा कर्मचारीलाई आवश्यक निर्देशन दिएको छ ।

अग्रिम टिकट बुकिङ काउन्टरमा खटिने कर्मचारीले तोकिएको पोशाक र परिचयपत्र अनिवार्य लगाउनुपर्नेछ । यात्रुसँग नम्र व्यवहार गर्दै सहज रूपमा टिकट उपलब्ध गराउने र सुरक्षित यात्राको सुनिश्चितता गर्न महासङ्घले निर्देशन दिएको छ ।

दशैँको भीड व्यवस्थापनका लागि असोज २५ गते घटस्थापनादेखि कात्तिक ८ गतेसम्म नारायणगढ–काठमाडौं सडकखण्डमा ट्रेलरलगायत ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइनेछ । खाद्य सामग्री, औषधि, फलफूल तथा अन्य अत्यावश्यक सामग्री बोकेका सवारीसाधनको आवतजावतमा भने रोक लगाइने छैन ।

त्यसैगरी, घटस्थापनादेखि कात्तिक १० गतेसम्म यात्रुवाहक सवारीसाधनका लागि देशभर लामो तथा मध्यम रुट परमिट खुला गरिएको छ ।