काठमाडौं, असोज २२ । भारतले सुधाकर दलेलालाई नेपालका लागि नयाँ राजदूतमा प्रस्ताव गरेको छ ।
भारतीय विदेश सेवाका वरिष्ठ कूटनीतिज्ञ दलेलालाई नेपालका लागि राजदूत नियुक्त गर्न भारतले नेपालको परराष्ट्र मन्त्रालयमा ‘नोट भर्बल’ पठाएको परराष्ट्र स्रोतले जनाएको छ । नेपालको सहमति अर्थात् एग्रिमो प्राप्त भएपछि भारतले औपचारिक रूपमा राजदूत नियुक्त गर्नेछ ।
हाल भारतीय विदेश मन्त्रालयमा आर्थिक सम्बन्ध सचिवका रूपमा कार्यरत दलेला सन् १९९३ मा भारतीय विदेश सेवामा प्रवेश गर्नुभएको हो । उहाँले तेलअभिभस्थित भारतीय नियोगबाट कूटनीतिक करिअर सुरु गर्नुभएको थियो ।
त्यसपछि उहाँले ब्रासिलिया, सिकागो, ढाका, जेनेभा, थिम्पु र वासिङ्टन डीसीस्थित भारतीय नियोगमा विभिन्न जिम्मेवारी सम्हाल्नुभएको थियो । सन् २०२२ देखि २०२५ सम्म उहाँ भुटानका लागि भारतीय राजदूत हुनुहुन्थ्यो ।
दलेलाले नयाँ दिल्लीस्थित प्रधानमन्त्री कार्यालयमा सन् २००९ देखि २०११ सम्म निर्देशकका रूपमा समेत काम गर्नुभएको थियो । उक्त जिम्मेवारीमा उहाँले दक्षिण एसियाली छिमेकी, पूर्वी एसिया, इन्डो–प्यासिफिक, खाडी, मध्यपूर्व र अफ्रिकी मुलुकसँग भारतको सम्बन्ध हेर्नुभएको थियो ।
नेपाल र भुटान मामिलामा समेत उहाँ अनुभवी मानिनुहुन्छ । सन् २००६ मा भारतीय विदेश मन्त्रालयको उत्तर विभागमा निर्देशक र सन् २०१६ देखि २०१९ सम्म सोही विभागमा सहसचिवका रूपमा उहाँले काम गर्नुभएको थियो । उक्त विभागले नेपाल र भुटानसँगको सम्बन्ध हेर्ने गर्छ ।
व्यापार तथा आर्थिक नीतिमा समेत लामो अनुभव भएका दलेलाले नयाँ दिल्लीस्थित वाणिज्य विभागमा व्यापार नीति निर्देशकका रूपमा काम गर्नुभएको थियो । विश्व व्यापार संगठन (डब्लूटीओ) मा रहेको भारतको स्थायी नियोगमा दुईपटक जिम्मेवारी सम्हाल्नुभएका उहाँ सन् २०१४ देखि २०१६ सम्म भारतका डेपुटी स्थायी प्रतिनिधि हुनुहुन्थ्यो ।
त्यस्तै, उहाँ सन् २०२० देखि २०२२ सम्म वासिङ्टन डीसीस्थित भारतीय दूतावासमा डेपुटी चिफ अफ मिसनका रूपमा कार्यरत हुनुहुन्थ्यो । सन् २०२५ सेप्टेम्बर १ देखि भारतीय विदेश मन्त्रालयमा आर्थिक सम्बन्ध सचिवको जिम्मेवारी सम्हाल्नुभएका दलेलाले भारतको आर्थिक कूटनीति, ग्लोबल साउथसँग विकास साझेदारी, अफ्रिकासँगको साझेदारी तथा बहुपक्षीय आर्थिक सम्बन्धलगायत विषय हेर्दै आउनुभएको छ ।
दलेला ब्रिक्स, आईबीएसए तथा भारत–इजरायल–यूएई–अमेरिका (आईटूयूटू) सम्बन्धी विषयमा भारतका प्रतिनिधिसमेत हुनुहुन्छ । परराष्ट्र सेवामा प्रवेश गर्नुअघि उहाँले इलेक्ट्रोनिक्स इन्जिनियरिङमा स्नातक गर्नुभएको थियो ।
नियुक्ति भएमा दलेला नेपालका लागि भारतको २७औँ राजदूत बन्नुहुनेछ । यसअघि नेपालका लागि भारतीय राजदूत रहनुभएका नवीन श्रीवास्तवले आफ्नो कार्यकाल पूरा गरी अक्टोबर १ मा भारत फर्किनुभएको छ । उहाँ सन् २०२२ जुनमा नेपालका लागि २६औँ भारतीय राजदूत नियुक्त हुनुभएको थियो ।












प्रतिक्रिया दिनुहोस्