काठमाडौं, असोज २२ । नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो १ बजे बैठक बस्ने एमाले प्रचार विभाग प्रमुख नीरज आचार्यले जानकारी दिनुभएको छ ।
पूर्वराष्ट्रपति तथा एमाले वरिष्ठ नेता विद्यादेवी भण्डारी वरिष्ठ नेताका रूपमा मनोनीत भएपछि पहिलोपटक स्थायी कमिटी बैठकमा सहभागी हुँदै हुनुहुन्छ । एमालेको सचिवालयले असोज ८ गते उहाँलाई वरिष्ठ नेता मनोनीत गर्ने निर्णय गरेको थियो भने केन्द्रीय कमिटी बैठकले त्यसलाई अनुमोदन गरेको थियो ।
गत असोज ५ देखि ८ गतेसम्म बसेको केन्द्रीय कमिटी बैठकले स्थायी कमिटीमा पदाधिकारीबाहेक ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, काशीनाथ अधिकारी, देवराज घिमिरे, लालबाबु पण्डित, थममाया थापा र शिवमाया तुम्बाहाङ्फेलाई थप गरेको थियो ।
बैठकले केन्द्रीय कमिटीबाट प्रत्यायोजित अधिकार प्रयोग गर्दै पार्टीका विभिन्न तह र निकायको जिम्मेवारी टुंगो लगाउने तयारी गरेको छ । त्यस क्रममा केन्द्रीय सदस्य, पोलिटब्युरो सदस्य, स्थायी कमिटीका थप सदस्य, ज्येष्ठ कम्युनिष्ट मञ्च तथा विभिन्न विभागका सदस्यको जिम्मेवारी निर्धारण गरिने बताइएको छ ।
बैठकमा समसामयिक राजनीतिक अवस्था, पार्टीको आगामी कार्यदिशा, सांगठनिक गतिविधि तथा आगामी स्थानीय तह निर्वाचनको तयारीका विषयमा समेत छलफल हुने बताइएको छ ।












प्रतिक्रिया दिनुहोस्