काठमाडौं, असोज २२ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि आज मतदान हुँदैछ ।
केन्द्रीय निर्वाचन समितिका अनुसार मतदान बिहान १० बजेदेखि साँझ ६ बजेसम्म हुनेछ । मतदानका लागि निर्वाचन आयोगबाट मतपेटिका ल्याइसकिएको छ भने ५०० जना मतदान अधिकृत खटाइने भएका छन् ।
महाधिवेशन प्रतिनिधिले मतदान गर्न २३ वटा मतपत्र प्रयोग गर्नुपर्नेछ । क्षेत्र, प्रदेश र क्लस्टरअनुसार २३ प्रकारका मतपत्र तयार पारिएको निर्वाचन समितिले जनाएको छ ।
एक जना प्रतिनिधिलाई मतदान गर्न कम्तीमा आधा घण्टादेखि ४५ मिनेटसम्म लाग्ने समितिको अनुमान छ ।
मतदानका लागि राष्ट्रिय सभागृह र खुलामञ्चमा व्यवस्था गरिएको छ । प्रदेश तथा प्रतिनिधित्वका आधारमा मतदान केन्द्र निर्धारण गरिएको छ ।
राष्ट्रिय सभागृहको मतदान केन्द्र ‘क’ मा बागमती प्रदेशका महाधिवेशन प्रतिनिधिले मतदान गर्नेछन् ।
खुलामञ्चको मतदान केन्द्र ‘ख’ मा कोशी प्रदेश र मधेस प्रदेशका प्रतिनिधिका लागि तराई–मधेस हल, गण्डकी प्रदेशका लागि हिमाली हल तथा लुम्बिनी प्रदेशका लागि पहाड हल तोकिएको छ । कर्णाली, सुदूरपश्चिम तथा नेपाली जनसम्पर्क समितिका प्रतिनिधिले पनि पहाड हलबाट मतदान गर्ने व्यवस्था गरिएको छ ।
मतदान सकिएलगत्तै मतगणना सुरु गरिने निर्वाचन समितिले जनाएको छ ।












प्रतिक्रिया दिनुहोस्