रामेछाप असाेज २२। दुर्गम गाउँका नागरिकका लागि सामान्य स्वास्थ्य जाँचदेखि सरकारी कागजपत्र बनाउनेसम्मका काम कहिलेकाहीँ ठूलो खर्च र लामो यात्राको कारण झन्झटिलो बन्ने गर्छ। यही बाध्यतालाई कम गर्ने उद्देश्यले रामेछापको उमाकुण्ड गाउँपालिकामा सञ्चालन गरिएको एकीकृत घुम्ती शिविरले ‘सेवा लिन नागरिक होइन, नागरिक भएको ठाउँमा सेवा पुग्नुपर्छ’ भन्ने उदाहरण प्रस्तुत गरेको छ।
उमाकुण्ड गाउँपालिका–६ गुप्तेश्वर र वडा नम्बर ७ मा सञ्चालित निःशुल्क आयुर्वेदिक स्वास्थ्य शिविरबाट मात्रै करिब ४ सय जना स्थानीय नागरिकले स्वास्थ्य परीक्षण तथा औषधि सेवा लिनुभएको छ।
गाउँमै चिकित्सक पुगेपछि स्थानीयवासीले सहज रूपमा स्वास्थ्य जाँच गराउनुका साथै आवश्यक औषधिसमेत निःशुल्क प्राप्त गरेका छन्। दुर्गम बस्तीमा आयोजना गरिएको शिविरमा स्थानीय नागरिकको उल्लेख्य सहभागिता रहेको थियो।
आयुर्वेद तथा वैकल्पिक चिकित्सालयका निमित्त प्रमुख दीपक कार्कीको नेतृत्वमा डा. उत्तम गैरे, डा. अरुण टेर्रा लगायतका स्वास्थ्यकर्मीको टोलीले शिविरमा सेवा प्रदान गरेको थियो। गुप्तेश्वरमा आयोजित स्वास्थ्य शिविरबाट १ सय ५० जनाभन्दा बढी नागरिकले सेवा लिनुभएको थियो भने भूजीमा सञ्चालित शिविरबाट २ सय ५६ भन्दा बढी नागरिक लाभान्वित हुनुभएको थियो।

स्वास्थ्य परीक्षण र औषधि मात्रै होइन, एकीकृत घुम्ती शिविरले गाउँमै सरकारी सेवा उपलब्ध गराएपछि स्थानीय नागरिकका लागि यो कार्यक्रम थप उपयोगी बनेको छ। शिविरमार्फत नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, व्यवसाय दर्ता तथा योजना सम्झौतालगायतका प्रशासनिक सेवासमेत उपलब्ध गराइएको थियो। स्वास्थ्य उपचारका लागि एकातिर र सरकारी कागजात तथा अन्य कामका लागि अर्कोतिर धाउनुपर्ने अवस्थाको अन्त्य गर्दै एउटै स्थानबाट विभिन्न सेवा पाएपछि स्थानीयवासी उत्साहित भएका छन्।
स्वास्थ्यसम्बन्धी सेवा दुईवटा वडामा सञ्चालन गरिएको भए पनि अन्य प्रशासनिक तथा सेवा प्रवाहका कार्यक्रम भने गाउँपालिकाका सबै सातवटै वडामा सञ्चालन गरिएको थियो।
उमाकुण्ड गाउँपालिका–७ का वडाध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता रुद्रमणि नेवारले गाउँमै पुगेर आयुर्वेदिक स्वास्थ्य सेवा उपलब्ध गराइएकोमा खुसी व्यक्त गर्नुभयो। “गाउँमै आएर आयुर्वेदिक स्वास्थ्य सेवा प्रदान गरिनु निकै सकारात्मक कुरा हो। आगामी दिनमा अन्य वडामा समेत कसरी सहकार्य गरेर यस्ता सेवा विस्तार गर्न सकिन्छ भन्ने विषयमा योजना बनाएर काम गर्न प्रतिबद्ध छौँ,” वडाध्यक्ष नेवारले भन्नुभयो।

उमाकुण्ड गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले दुर्गम गाउँका नागरिकलाई लक्षित गरेर गाउँमै एकीकृत सेवा सञ्चालन गर्दा नागरिकको समयसँगै ठूलो आर्थिक भारसमेत घटेको बताउनुभयो।
उहाँका अनुसार सदरमुकामसम्म पुग्नुपर्ने बाध्यता हटाएर गाउँमै सरकारी सेवा उपलब्ध गराउने उद्देश्यले आफू निर्वाचित भएदेखि नै हरेक वर्ष यस्ता शिविर सञ्चालन गर्दै आइएको छ। “वडामै एकीकृत सेवा सञ्चालन गर्दा नागरिकको करोडौँ रुपैयाँ जोगिएको छ। दुर्गम गाउँका नागरिकलाई आफ्नै गाउँमा सबै प्रकारका सेवा उपलब्ध गराउने हाम्रो उद्देश्य हो,” अध्यक्ष सुनुवारले भन्नुभयो।
उहाँले नागरिकले सामान्य कामका लागि पनि सदरमुकामसम्म पुग्नुपर्ने अवस्थालाई अन्त्य गर्न स्थानीय सरकार नागरिकको घरदैलोमै पुग्नुपर्ने बताउनुभयो।

उमाकुण्ड गाउँपालिका रामेछापको दुर्गम हिमाली क्षेत्र हो। यहाँका कतिपय बस्तीबाट सदरमुकाम मन्थलीसम्म पुग्नै ठूलो खर्च लाग्ने गर्दछ। गाउँपालिकाको वडा नम्बर १ लाहाछेवरबाट मात्रै सदरमुकाम मन्थली पुग्न दुई हजार रुपैयाँभन्दा बढी यातायात भाडा खर्च हुने स्थानीयको भनाइ छ। यस्तो अवस्थामा नागरिकले सानो प्रशासनिक काम वा सामान्य स्वास्थ्य परीक्षणका लागि समेत सदरमुकाम आउजाउ गर्दा आर्थिक बोझ थपिने गरेको छ। यही वास्तविकतालाई ध्यानमा राख्दै गाउँमै सेवा पुर्याउने अभियानले दुर्गम नागरिकका लागि राहतको अनुभूति दिएको छ।
एकीकृत घुम्ती शिविरले स्वास्थ्य सेवा मात्रै दिएको छैन, यसले ‘सरकार जनताको घरदैलोमा पुग्न सक्छ’ भन्ने भरोसा पनि जगाएको छ। दुर्गम बस्तीमा पुगेको एउटा स्वास्थ्यकर्मीको टोली, एउटै शिविरबाट पाइएको औषधि र प्रशासनिक सेवाले स्थानीय नागरिकको समय, श्रम र पैसा बचत गर्नुका साथै राज्यप्रतिको अपनत्वसमेत बढाउने आधार तयार गरेको छ।
गाउँमै सेवा पाएपछि सदरमुकाम धाउनुपर्ने बाध्यता केही हदसम्म कम हुनु र आर्थिक रूपमा कमजोर तथा दुर्गम क्षेत्रका नागरिकले सहज रूपमा सेवा पाउनु नै यस्ता शिविरको सबैभन्दा ठूलो उपलब्धि भएको स्थानीय तहको भनाइ छ। सेवा खोज्दै नागरिक शहर पुग्ने होइन, नागरिक भएको ठाउँसम्म राज्य पुग्नुपर्छ भन्ने सन्देश उमाकुण्डको यो अभियानले दिएको छ।












प्रतिक्रिया दिनुहोस्