रामेछाप, असोज २२। आर्थिक अवस्था, सामाजिक परिस्थितिका कारण स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहन सक्ने रामेछापका लक्षित वर्गलाई स्वास्थ्य बीमामा समेट्ने महत्वपूर्ण पहल अघि बढाइएको छ।
जिल्लामा स्थायी बसोबास गर्ने सीमान्तकृत, लोपोन्मुख समुदाय, महिला स्वास्थ्य स्वयंसेविका, आश्रममा आश्रित व्यक्ति तथा अपाङ्गता ‘ख’ वर्गलगायत लक्षित वर्गको स्वास्थ्य बीमा अब जनस्वास्थ्य कार्यालय रामेछापले नै प्रिमियम रकम भुक्तानी गरिदिने भएको छ।
यसका लागि जनस्वास्थ्य कार्यालय रामेछाप र स्वास्थ्य बीमा बोर्ड जिल्ला सम्पर्क कार्यालय रामेछापबीच बिहीबार, द्विपक्षीय सम्झौता भएको जनस्वास्थ्य कार्यालय रामेछापका प्रमुख विभु झाले जानकारी दिनुभयो। सम्झौताअनुसार तोकिएका लक्षित वर्गका व्यक्तिहरूले नयाँ स्वास्थ्य बीमा गर्दा वा यसअघि गरिएको स्वास्थ्य बीमा नवीकरण गर्दा लाग्ने प्रिमियम रकम जनस्वास्थ्य कार्यालय रामेछापबाट भुक्तानी गरिनेछ।
स्वास्थ्य उपचार आवश्यक पर्दा आर्थिक अभावकै कारण अस्पताल पुग्न नसक्ने तथा उपचारको खर्च जुटाउन कठिन हुने अवस्थाका नागरिकका लागि यो कार्यक्रम महत्वपूर्ण हुने अपेक्षा गरिएको छ। विशेषगरी समाजका कमजोर, सीमान्तकृत र संरक्षण आवश्यक पर्ने वर्गलाई स्वास्थ्य बीमाको दायरामा ल्याउँदा उनीहरूको स्वास्थ्य उपचारमा सहज पहुँच स्थापित गर्न सहयोग पुग्नेछ।
जनस्वास्थ्य कार्यालयका प्रमुख झाले लक्षित वर्गका सबै नागरिकलाई यो अवसरको उपयोग गर्दै स्वास्थ्य बीमा गराउन आग्रह गर्नुभएको छ। “स्वास्थ्य उपचार पाउनु हरेक नागरिकको आधारभूत अधिकार हो। आर्थिक अवस्था वा सामाजिक कारणले कुनै पनि लक्षित वर्ग स्वास्थ्य सेवाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले प्रिमियम रकम कार्यालयबाटै भुक्तानी हुने व्यवस्था गरिएको हो,” प्रमुख झाले भन्नुभयो।
उहाँले नयाँ स्वास्थ्य बीमा गर्न बाँकी रहेका तथा बीमा नवीकरण गर्नुपर्ने सबै लक्षित वर्गलाई समयमै प्रक्रिया पूरा गर्न अनुरोध गर्नुभएको छ। यस कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न जिल्लाका स्थानीय तह, स्वास्थ्य शाखा तथा सबै वडा कार्यालयलाई आवश्यक सहजीकरण गरिदिन जनस्वास्थ्य कार्यालयले अनुरोध गरेको छ। लक्षित वर्गको पहिचान, सूचना प्रवाह तथा बीमा प्रक्रियामा स्थानीय तह र वडा कार्यालयको भूमिका महत्वपूर्ण हुने कार्यालयको भनाइ छ।
स्वास्थ्य बीमा आर्थिक रूपमा कमजोर नागरिकका लागि उपचारको समयमा ठूलो सहारा बन्न सक्छ। त्यसैले प्रिमियम रकम तिर्न नसकेर स्वास्थ्य बीमाबाट बाहिर रहनुपर्ने अवस्थालाई अन्त्य गर्दै लक्षित वर्गलाई बीमाको दायरामा ल्याउने यो पहलले ‘आवश्यकताको बेला उपचार खर्चले रोक्न नपरोस्’ भन्ने मानवीय भावनालाई व्यवहारमा जोड्ने प्रयास गरेको छ।
जनस्वास्थ्य कार्यालय रामेछापले सबै सम्बन्धित लक्षित वर्गलाई आफू स्वास्थ्य बीमाका लागि योग्य भए/नभएको जानकारी लिन तथा आवश्यक प्रक्रिया पूरा गर्न स्थानीय तह, स्वास्थ्य शाखा वा सम्बन्धित वडा कार्यालयमा सम्पर्क गर्नसमेत आग्रह गरेको छ।












प्रतिक्रिया दिनुहोस्