काठमाडौं, असोज २२। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि आज बिहान ७ बजेबाट सुरु हुने भनिएको मतदानको समय फेरि सारिएको छ। निर्वाचन समितिका अनुसार अब मतदान दिउँसो २ः३० बजेबाट सुरु हुनेछ।
यसअघि निर्वाचन समितिले बिहान ७ बजेदेखि मतदान सुरु गर्ने कार्यतालिका सार्वजनिक गर्नुभएको थियो। तर भारी वर्षा तथा केही प्राविधिक कारण देखाउँदै मतदानको समय तीन घण्टा पछाडि सारेर बिहान १० बजेका लागि निर्धारण गरिएको थियो। त्यसपछि १० बजेबाट सुरु हुने भनिएको मतदान पनि पुनः दिउँसो १ बजेसम्मका लागि सारिएको थियो।
तर १ बजेबाट पनि मतदान सुरु हुन नसकेपछि निर्वाचन समितिले पुनः समय परिवर्तन गर्दै दिउँसो २ः३० बजेबाट मतदान गराउने निर्णय गर्नुभएको हो। मतदानको समय पटक–पटक सारिनुको पछिल्लो स्पष्ट कारण भने निर्वाचन समितिले सार्वजनिक गर्नुभएको छैन।
कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि महाधिवेशनमा सहभागी ७ हजार २५५ जना प्रतिनिधिले मतदान गर्नुहुनेछ। सभापतिसहित विभिन्न पदाधिकारी तथा केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिनुभएका नेताहरूको अन्तिम नामावली निर्वाचन समितिले बुधबार साँझ सार्वजनिक गरिसकेको छ।
१५औँ महाधिवेशनबाट सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्रीलगायत पदाधिकारी तथा केन्द्रीय सदस्य चयन हुनुहुनेछ। मतदान सम्पन्न भएपछि निर्वाचन समितिले मतगणनाको प्रक्रिया अघि बढाउने तयारी गरेको छ।
यसै महाधिवेशनबाट विधान संशोधन गर्दै नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकार २९७ सदस्यीय बनाइएको छ। नयाँ नेतृत्व चयनका लागि हुने मतदानले आगामी कार्यकालका लागि कांग्रेसको केन्द्रीय नेतृत्व तय गर्नेछ।












प्रतिक्रिया दिनुहोस्