रामेछाप, असोज २२। रामेछापको दुर्गम उमाकुण्ड गाउँपालिका–२ बाम्तीभण्डारमा १० शय्याको बाम्ती आधारभूत अस्पताल निर्माण सम्पन्न भएको छ। लामो समयको प्रयासपछि तयार भएको अस्पतालको असोज २४ गते शनिबार बिहान १० बजे औपचारिक उद्घाटन गरिने भएको छ।
स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी पालिकास्तरीय आधारभूत अस्पतालका रूपमा सञ्चालनमा ल्याउन लागिएको हो। उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारको प्रमुख आतिथ्यता रहनेछ भने उपाध्यक्ष सावित्री सुनुवार र प्रमुख प्रशासकीय अधिकृत एकराज कुलुङको विशेष आतिथ्यता रहनेछ।
कार्यक्रममा अस्पताल भवन उद्घाटन, बोर्ड अनावरण तथा अस्पताल स्थापनामा सहयोग गर्ने जग्गादाता र सहयोगीलाई सम्मान गरिनेछ।
अस्पताल सञ्चालनसँगै आवश्यक उपकरण, चिकित्सक तथा स्वास्थ्यकर्मी, औषधि, फार्मेसी र २४ घण्टे आकस्मिक सेवाको व्यवस्था गर्नुपर्ने स्थानीयको माग छ। साथै, नवनिर्मित अस्पतालसम्म सहज सडक पहुँचको व्यवस्था गर्नसमेत गाउँपालिकासँग माग गरिएको छ।
अस्पताल प्रभावकारी रूपमा सञ्चालनमा आएमा उमाकुण्डका दुर्गम बस्तीका नागरिकले स्थानीय तहमै सहज स्वास्थ्य सेवा पाउने अपेक्षा गरिएको छ।












प्रतिक्रिया दिनुहोस्