काठमाडौं, असोज २२ । प्रशान्त महासागरमा विकसित ‘एल निनो’ प्रणालीका कारण नेपालमा यस वर्षको मनसुनमा औसतभन्दा कम वर्षा हुने अनुमान गरिए पनि औसतसरह वर्षा भएको छ।
जल तथा मौसम विज्ञान विभागले मनसुन सुरु हुनुअघि यस वर्ष औसतभन्दा कम वर्षा हुने अनुमान सार्वजनिक गरेको थियो। तर विभागको पछिल्लो विवरणअनुसार जुन १९ देखि अहिलेसम्म झन्डै ९५ प्रतिशत वर्षा भइसकेको छ।
सामान्यतया नेपालमा मनसुन अवधिभर करिब १ हजार ५०० मिलिमिटर वर्षा हुने गरेकोमा यसपटक १ हजार ३२६ मिलिमिटर वर्षा रेकर्ड भएको छ।
मौसमविद्का अनुसार मधेश प्रदेशमा औसतभन्दा केही कम वर्षा भएको छ भने गण्डकी प्रदेश तथा बागमती प्रदेशका काठमाडौं र सिन्धुपाल्चोक आसपासका क्षेत्रमा औसतभन्दा धेरै वर्षा भएको छ। जुम्ला, जोमसोम र काठमाडौं विमानस्थलमा धेरै वर्षा मापन गरिएको छ भने धनगढी, नेपालगञ्ज, जनकपुर र विराटनगरलगायत क्षेत्रमा औसतभन्दा कम वर्षा भएको छ।
अहिले देशका धेरैजसो ठाउँबाट मनसुन बाहिरिइसकेको छ। केही भूभागमा पश्चिमी वायु र स्थानीय प्रणालीको सामान्य प्रभाव बाँकी रहेकाले अझै वर्षा थपिन सक्ने मौसमविद्ले बताएका छन्।
त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान विभागका सहप्राध्यापक मदन सिग्देलका अनुसार एल निनोको प्रभाव दक्षिण एसियासम्म आइपुग्न समय लागेकाले मनसुन अवधिमा नेपालमा त्यसको असर अपेक्षाअनुसार देखिएको थिएन। स्थानीय मौसमी प्रणाली र मनसुनको अन्त्यतिर विकसित न्यून चापीय प्रणालीले पनि वर्षा गराउन सहयोग गरेको उहाँको भनाइ छ।
आउँदो नोभेम्बरमा उत्कर्षमा पुग्ने अनुमान गरिएको एल निनो प्रणालीका कारण नेपालमा यस वर्ष हिउँदे वर्षा कम हुन सक्ने जोखिम रहेको छ। लगातार तीन वर्षदेखि घट्दै गएको हिउँदे वर्षाले कृषि तथा खाद्य सुरक्षामा थप चुनौती ल्याउन सक्ने विज्ञहरूको चिन्ता छ।












प्रतिक्रिया दिनुहोस्