जनता टाइम्स

२२ आश्विन २०८३, बिहीबार १५:१६

कांग्रेस केन्द्रीय कार्यसमितिको मतदान अझै सुरु भएन


काठमाडौं, असोज २२ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको मतदान अझै सुरु हुन सकेको छैन।

बिहान १० बजेदेखि मतदान सुरु गर्ने तय भए पनि तयारी नपुगेको भन्दै दिउँसो १ बजेका लागि सारिएको थियो। त्यसपछि अर्को सूचना जारी गर्दै दिउँसो साढे २ बजेका लागि समय तोकिए पनि मतदान अझै सुरु भएको छैन।

निर्वाचन समितिले मतपत्र सबै आइनपुगेका कारण मतदान रोकिएको जनाएको छ। मतदानको प्रतीक्षामा रहेका उम्मेदवार तथा कार्यकर्ताहरू अहिले महाधिवेशन प्रतिनिधिसँग मत मागिरहेका छन्।

महाधिवेशनमा सहभागी ७ हजार २५५ जना प्रतिनिधिले मतदान गर्नेछन्। सभापतिसहित पदाधिकारी र केन्द्रीय सदस्यका उम्मेदवारको अन्तिम नामावली निर्वाचन समितिले बुधबार बेलुका सार्वजनिक गरेको थियो।

१५औँ महाधिवेशनअन्तर्गत पदाधिकारीमा उम्मेदवारी दिएका चार जनाले उम्मेदवारी फिर्ता लिएका छन्। सभापतिका उम्मेदवार किशोरसिंह राठौरले उम्मेदवारी फिर्ता लिएका छन्। यस्तै, खुलातर्फ उपसभापतिका उम्मेदवार डा. मिनेन्द्र रिजाल र देवराज चालिसे तथा दलित क्लस्टरतर्फ सहमहामन्त्रीकी उम्मेदवार लक्ष्मी परियारले पनि उम्मेदवारी फिर्ता लिएका छन्।

मतदानअघि नै तीन जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन्। निर्वाचन समितिका अनुसार वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा, महिलातर्फ उपसभापतिमा पुष्पा भुसाल र काठमाडौं उपत्यका महिला सदस्यतर्फ प्रा. डा. अमिता प्रधान शाक्य निर्विरोध निर्वाचित भएका छन्।