जनता टाइम्स

२२ आश्विन २०८३, बिहीबार १५:३१

समृद्ध नेपाल निर्माणमा साझा राष्ट्रिय संकल्प आवश्यक : राष्ट्रपति


काठमाडौं, असोज २२ । राष्ट्रपति रामचन्द्र पौडेलले समृद्ध नेपाल निर्माण सरकार वा कुनै एक क्षेत्रको प्रयासबाट मात्र सम्भव नहुने बताउनुभएको छ।

नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीसँग भएको भेटमा राष्ट्रपति पौडेलले राज्य, निजी क्षेत्र र समग्र समाजको साझा राष्ट्रिय संकल्पबाट मात्रै समृद्ध नेपाल निर्माण गर्न सकिने बताउनुभएको हो।

उहाँले समृद्ध नेपाल निर्माणको संकल्पलाई व्यवहारमा रूपान्तरण गर्न निजी क्षेत्र अझ जिम्मेवार, सिर्जनशील र अग्रणी भूमिकामा प्रस्तुत हुनुपर्ने बताउनुभयो। नेपालको आर्थिक समृद्धिमा निजी क्षेत्रले पुर्‍याउँदै आएको योगदानको पनि उहाँले प्रशंसा गर्नुभयो।

नेपालको अर्थतन्त्रलाई गतिशील, उत्पादनमुखी र प्रतिस्पर्धी बनाउन सरकार र निजी क्षेत्रबीचको सहकार्य अपरिहार्य रहेको उहाँले बताउनुभयो।

महासंघमा आबद्ध १४ लाखभन्दा बढी व्यवसायीको प्रगति समग्र देशको प्रगतिसँग जोडिएको उल्लेख गर्दै उहाँले आर्थिक विकास, रोजगारी सिर्जना र नागरिकको जीवनस्तर सुधारमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो।

सरकारले नीतिगत स्थिरता, लगानी सुरक्षा, पूर्वाधार विकास, सहज प्रशासन र व्यवसायमैत्री वातावरण निर्माण गर्नुपर्ने तथा निजी क्षेत्रले लगानी, उत्पादन, उद्यमशीलता, नवप्रवर्तन र रोजगारी सिर्जनालाई थप विस्तार गर्नुपर्ने उहाँको भनाइ थियो।

उहाँले अबको प्राथमिकता उत्पादन वृद्धि, निर्यात प्रवर्द्धन, स्वदेशी तथा विदेशी लगानी आकर्षण, रोजगारी सिर्जना र नेपाली अर्थतन्त्रको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिमा केन्द्रित हुनुपर्ने बताउनुभयो।

जलविद्युत्, पर्यटन, कृषि तथा कृषिजन्य उद्योग, सूचना प्रविधि र उत्पादनमूलक क्षेत्रमा उपलब्ध सम्भावनालाई परिणाममुखी ढङ्गले उपयोग गर्न आवश्यक रहेको पनि उहाँले बताउनुभयो।

विशेषगरी युवा जनशक्तिलाई स्वदेशमै अवसर र उद्यमका सम्भावना सिर्जना गर्नु साझा दायित्व भएको राष्ट्रपति पौडेलले बताउनुभयो।

डिजिटल रूपान्तरण र विश्वव्यापी प्रतिस्पर्धाको वर्तमान युगमा महासंघले आफ्नो राष्ट्रिय सञ्जाललाई अन्तर्राष्ट्रिय आर्थिक सञ्जालसँग जोड्दै नेपाली उत्पादन, सेवा र उद्यमलाई विश्व बजारमा पुर्‍याउन थप नेतृत्वदायी भूमिका निर्वाह गर्ने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो।