काठमाडौं, असोज २२ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि हुने मतदान शुक्रबार बिहानदेखि मात्रै सुरू हुने भएको छ । खराब मौसम र प्राविधिक कारणसँगै ढिला मतदान सुरू गर्दा रातिमा मतदातालाई कठिन हुने बहाना बनाएर शुक्रबार बिहान ७ बजेदेखि मात्रै मतदान सुरु गर्ने निर्णये निर्वाचन समितिले गरेको हो ।
समितिले सभापतिका उम्मेद्वार गगन थापा, बरिष्ठ उपसभापतिमा सर्वसम्मत हुनुभएका बिश्वप्रकाश शर्मा, उपसभापति निर्बिरोध हुनुभएकी पुष्पा भुसाल र महामन्त्रीका प्रत्यासी प्रदीप पौडेल र गुरुराज घिमिरेको योजनामा शुक्रवारसम्म मतदानको समय धकेलिएको हो ।
सभापतिमा थापाको निश्चित भएपनि महामन्त्रीमा दुवै जना धरापमा रहेको तथा उपसभापति र सहमहामन्त्रीमा पनि चाहेको भन्दा फरक मतदाताको रोजाईमा परेको कारण सेटिङ मिलाएर रातभर हिसाव किताव निकाल्न शुक्रवार मतदान तय गरिएको निर्वाचन समितिकै एक सदस्यले जनाएका छन । उनका अनुसार भोटिङ अघि नै हिसाव निकाल्ने काममा बरिष्ठ उपसभापतिमा निर्विरोध हुनुभएका शर्मा लाग्नुभएको छ ।
‘मतदानको सवै तयारी पूरा भइसकेको छ र आज होइन भोलि गर्नू भन्ने निर्देशन छ,’ आफ्नो नाम गोप्य राख्ने सर्तमा जनताटाइम्स डटकमसँग ती सदस्यले भने । उनका अनुसार उपसभापति, महामन्त्री र सहमहामन्त्री मात्र नभइ केन्द्रीय सदस्यहरूमा समेत फरक नतिजा आउने आँकलन संस्थापनले देखेपछि सेटिङ मिलाउन तालिएको हो ।
महाधिवेशनको बन्द शत्रमा सभापति गगन थापाले कांग्रेसमा कुनै गुट नभएको र आफ्नो नाम कुनै समुहमा नरहेको बताउनु भएको थियो । थापाको यो घोषणाले उत्साहित बनेका प्रतिनिधि सभापतिमा थापा भन्दै उपसभापति, महामन्त्री र सहमहामन्त्रीमा फरक फरक उम्मेद्वारको नाम लिएर बसेका छन । यही दृष्यले संस्थापन झस्किएको हो ।
कांग्रेस महाधिवेशनमा आज बिहानबाट मतदानको समय तोकिएको थियो । पछि बढाएर दिउसो १ बजे, ३ बजे भन्दै सारेर शुक्रवार बिहान ७ बजे पुर्याइएको हो । पछिल्लो पटक निर्वाचन समितिले उम्मेदवार र मतदाता धेरै भएका कारण मतपत्र छपाइमा ढिलाइ भएकाले शुक्रबार बिहान ७ देखि अपराह्न ३ बजेसम्म मतदान हुने बताएको छ । कांग्रेसमा महाधिवेशन प्रतिनिधिको संख्या ७ हजार ३ सय १७ रहेको छ ।
मतदाता धेरै र हरेकको रोजाई फरक फरक देखिएपछि पदाधिकारीमा आवश्यक ब्यवस्था मिलाउन नेताहरूले मतदानको समय बिस्तारै बिस्तारै गरी पर धकेलेर आफ्ना जिताउने खेल खेलेको प्रतिनिधिको समेत बुझाइ रहेको छ । निर्वाचनमा बदमासी भइरहेको भन्ने सूचनालाई निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काको भनाईले पनि आधार दिएको छ ।
खडकाले मतदानका लागि आवश्यक तयारी सबै सकिएको जानकारी दिउसो नै दिनुभएको थियो । तर साँझमा मतदान सुरू गर्दा रातभर मतदातालाई अप्ठेरो पर्ने भएकाले त्यसलाई मध्यनजर गर्दै शुक्रबार बिहानदेखि नै थालिने निर्णय सुनाउनु भएको छ । खडकाको अर्काे सूचनाले पनि निर्वाचनमा सेटिङको आधारलाई नै बल पुर्याएको छ ।

‘मतपत्र धेरै भएकाले आफूसँगै ३२ जना वरिष्ठ अधिवक्ताहरूले मतपत्रमा हस्ताक्षर गरिरहेको’ खडकाको भनाईले निर्वाचनको बिश्वसनीयतामै प्रश्न उठेको छ । यस्तो काम ‘आफ्नालाई जिताउन चाहिने मत अन्तै हाल्न लगाएर ढ्वाङमा पार्ने योजना’ हो कि भन्ने आशंका उम्मेद्वारहरूको छ ।
कांग्रेस महाधिवेशनमा सभापतिमा गगनको बिकल्प नरहेको अधिकांश प्रतिनिधि बताइरहेका छन भने अर्का नेता बिश्वप्रकाश पनि निर्विरोध भइसक्नुभएको छ । दुईबाहेक अरुमा बिकल्प नै बिकल्प छ भन्ने महाधिवेशन प्रतिनिधिको मत रहेको छ । यही भएर पनि सवै क्लस्टरमा जिताउने ब्यक्तिको नामको सूची पठाएर जितउने र कसैले फेला पारे होइन, कार्वाही हुन्छ भन्दै ठूलो स्वरमा कराउने नीति अख्तियार गरेको सूचना समेत बाहिर आएको छ ।
निर्वाचन समितिका अनुसार महाधिवेशनमा सहभागी ७ हजार २५५ जना महाधिवेशन प्रतिनिधिले नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान गर्नेछन ।
परिचयपत्र र मतदाता नामावली रुजु गरिने
निर्वाचन समितिले मतदानस्थलमा प्रवेश गरेपछि प्रतिनिधिहरूलाई आफूलाई तोकिएको प्रदेश तथा समूहको मतदान केन्द्रमा गई मतदान गर्न आग्रह गरेको छ । मतदान गर्नुअघि प्रत्येक प्रतिनिधिको परिचयपत्र तथा मतदाता नामावली रुजु गरिनेछ । रुजु प्रक्रिया पूरा भएपछि मात्रै प्रतिनिधिलाई मतदान गर्ने व्यवस्था गरिएको छ।
निर्वाचन समितिले मतदानस्थलमा मोबाइल फोनलगायत निर्वाचन आचारसंहिताले निषेध गरेका सामग्री लिएर प्रवेश गर्न नपाइने जनाएको छ । प्रतिनिधिहरूले निर्वाचन समितिले तोकेको प्रक्रिया पूरा गरेर मात्रै मतदान गर्न पाउनेछन्।
कुन प्रदेशको मतदान कहाँ ?
निर्वाचन समितिले महाधिवेशन प्रतिनिधिको सहजताका लागि विभिन्न मतदान केन्द्र तोकेको छ । प्रतिनिधिहरूले आफूलाई तोकिएको प्रदेश तथा समूहअनुसार सम्बन्धित मतदान केन्द्रमा पुगेर मतदान गर्नुपर्ने समितिको भनाई छ ।
राष्ट्रिय सभा गृह, मतदान केन्द्र ‘क’ : बागमती प्रदेश
खुलामञ्च, मतदान केन्द्र ‘ख’ : कोशी प्रदेश तथा तराई–मधेस समूह
हिमाल हल : गण्डकी प्रदेश
तराई–मधेस हल : मधेश प्रदेश
पहाड हल : लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश तथा नेपाली जनसम्पर्क समिति र भ्रातृ संस्थातर्फका प्रतिनिधि












प्रतिक्रिया दिनुहोस्