जनता टाइम्स

२२ आश्विन २०८३, बिहीबार १९:४१

एमालेले मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने


काठमाडौं, असोज २२ । नेकपा (एमाले)ले आगामी मंसिरको पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने भएको छ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको स्थायी कमिटी बैठकले राष्ट्रिय भेला गर्ने निर्णय गरेको हो। भेलामा पार्टीका प्रदेश तथा जिल्ला पदाधिकारी, पालिका अध्यक्ष तथा उपाध्यक्ष र संघ, प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधि सहभागी हुने एमाले उपमहासचिव लेखराज भट्टले जानकारी दिनुभयो।

बैठकले मंसिर २६ गते वडा अधिवेशन र पुस ४ गते पालिका अधिवेशन गर्ने निर्णय पनि गरेको छ।

नगर तथा वडा अधिवेशनपछि सातवटै प्रदेशमा प्रदेशस्तरीय भेला गर्ने निर्णय भएको भट्टले बताउनुभयो।

त्यस्तै, अध्यक्ष पद रिक्त रहेका १३ जिल्लामा स्थानीय कमिटीले अध्यक्ष चयन गरी माथिल्लो कमिटीमार्फत अनुमोदन गराउने निर्णय भएको छ। ती कमिटीलाई आयोजक समितिका रूपमा अघि बढाइने भट्टले जानकारी दिनुभयो।

बिहीबारको स्थायी कमिटी बैठकमै एमालेकी वरिष्ठ नेता विद्यादेवी भण्डारीले पार्टीको जिम्मेवारी सम्हाल्ने शपथ लिनुभएको थियो।