काठमाडौं, असोज २२ । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले नेपाली काँग्रेसले विगतका कामको चर्चा गरेर मात्रै नहुने भन्दै जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी काम गर्नुपर्ने बताउनुभएको छ।
नेपाली काँग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय कार्यसमितिको खुला सदस्य पदका उम्मेदवार महर्जनले आफ्नो उम्मेदवारी पार्टीको नीति निर्माण र कार्यसम्पादनमा ललितपुर महानगरपालिकाको प्रमुखका रूपमा प्राप्त अनुभव उपयोग गर्न दिएको बताउनुभएको हो।
उहाँले अहिलेको युवा पुस्ता तथा आमनागरिकले भाषण र आश्वासनभन्दा कामको परिणाम खोजिरहेको बताउनुभयो। काँग्रेसले विगतको योगदान मात्र देखाएर अबका राजनीतिक चुनौती सामना गर्न नसक्ने उहाँको भनाइ छ।
देश विकासका लागि काँग्रेस स्पष्ट योजना, नीति र दृष्टिकोणसहित अघि बढ्नुपर्ने उहाँले बताउनुभयो। महाधिवेशनले मुलुकको विकासका लागि प्रभावकारी योजना र नीति निर्माण गर्न सक्ने नेतृत्व चयन गर्नुपर्ने उहाँको भनाइ छ।
महर्जनले काँग्रेसप्रति युवाको आकर्षण बढ्दै गएको बताउँदै संशोधित विधानले पनि युवालाई समेट्ने व्यवस्था गरेको उल्लेख गर्नुभयो। पार्टीभित्र देखिएको दुई खेमाको अवस्थालाई अन्त्य गर्दै एकीकृत भएर अघि बढ्नुपर्ने उहाँले बताउनुभयो।
उहाँले भन्नुभयो, ‘जनतालाई गफ होइन, काम चाहिएको छ। सेवा दिन सक्ने गरी काम गर्न सक्नुपर्छ। दुईपटक मेयर भएर काम गरेको अनुभव काँग्रेसको केन्द्रीय कार्यसमितिमा उपयोग गर्न चाहन्छु।’
महर्जनले महाधिवेशनबाट चर्चित अनुहारभन्दा काम गरेर देखाएका र सक्षम व्यक्तिलाई नेतृत्वमा ल्याउनुपर्नेमा जोड दिनुभयो। योग्य र काम गर्नसक्ने नेतृत्व चयनबाट नै काँग्रेसको भविष्य निर्धारण हुने उहाँले बताउनुभयो।












प्रतिक्रिया दिनुहोस्