जनता टाइम्स

२३ आश्विन २०८३, शुक्रबार ०६:५३

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजारभन्दा बढी प्रतिनिधिले भोट हाल्ने


काठमाडौं, असोज २३ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज शुक्रबार बिहान ७ बजेदेखि मतदान हुँदैछ। निर्वाचन समितिले दिउँसो ३ बजेसम्म मतदानको समय निर्धारण गरेको छ।

बिहीबार बिहानैदेखि मतदान सुरु गर्ने तयारी भए पनि मौसम प्रतिकूल हुनु र आवश्यक तयारी पूरा नहुँदा निर्वाचन कार्यक्रम पटकपटक सारिएको थियो। मतपत्र छपाइमा ढिलाइ भएपछि शुक्रबार बिहानदेखि मतदान गर्ने निर्णय गरिएको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले बताए।

निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए। बिहीबार साँझ मतदान सुरु गर्दा रातभर प्रतिनिधिलाई असुविधा हुने भएकाले शुक्रबार बिहानबाट मतदान गर्ने निर्णय गरिएको उनको भनाइ छ।

महाधिवेशन लम्बिएपछि प्रतिनिधिको थप बसाइ खर्च र खाना खर्च पार्टीले नै बेहोर्ने आर्थिक व्यवस्थापन समितिका संयोजक उमेश श्रेष्ठले बताए।

प्रदेशअनुसार मतदान केन्द्र निर्धारण

निर्वाचन समितिले महाधिवेशन प्रतिनिधिको सहजताका लागि प्रदेश तथा समूहअनुसार विभिन्न मतदान केन्द्र तोकेको छ।

  • राष्ट्रिय सभा गृह, मतदान केन्द्र ‘क’ — बागमती प्रदेश
  • खुलामञ्च, मतदान केन्द्र ‘ख’ — कोशी प्रदेश तथा तराई–मधेस समूह
  • हिमाल हल — गण्डकी प्रदेश
  • तराई–मधेस हल — मधेस प्रदेश
  • पहाड हल — लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश तथा नेपाली जनसम्पर्क समिति र भ्रातृ संस्थातर्फका प्रतिनिधि

निर्वाचन समितिका अनुसार नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि ७ हजार २५५ जना महाधिवेशन प्रतिनिधिले मतदान गर्नेछन्। कांग्रेस महाधिवेशनमा कुल प्रतिनिधिको संख्या ७ हजार ३१७ रहेको जनाइएको छ।

परिचयपत्र र नामावली रुजु गरेपछि मात्रै मतदान

मतदानस्थलमा प्रवेश गरेपछि प्रतिनिधिहरूले आफूलाई तोकिएको मतदान केन्द्रमा पुग्नुपर्नेछ। मतदान गर्नुअघि प्रत्येक प्रतिनिधिको परिचयपत्र र मतदाता नामावली रुजु गरिनेछ। रुजु प्रक्रिया पूरा भएपछि मात्रै मतदान गर्न पाइनेछ।

निर्वाचन समितिले मोबाइल फोनलगायत निर्वाचन आचारसंहिताले निषेध गरेका सामग्री मतदानस्थलमा लैजान नपाइने जनाएको छ।

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी दर्ता, दाबी–विरोध र उम्मेदवारी फिर्ताको प्रक्रिया पूरा भइसकेको छ। निर्वाचन समितिले उम्मेदवारको अन्तिम नामावलीसमेत सार्वजनिक गरिसकेको छ।

मतदानबाट सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री तथा विभिन्न समूहका केन्द्रीय सदस्य चयन हुनेछन्।

मतदानपछि मतगणना

मतदान सम्पन्न भएपछि मतपेटिका सुरक्षित व्यवस्थापन गरी आवश्यक प्रक्रिया पूरा गरेर मतगणना सुरु गरिने निर्वाचन समितिले जनाएको छ। मतगणना सम्पन्न भएपछि निर्वाचन परिणाम सार्वजनिक गरिनेछ।

१५औँ महाधिवेशनले विधान संशोधन गर्दै कांग्रेसको केन्द्रीय कार्यसमिति २९७ सदस्यीय बनाएको छ। नयाँ संरचनाअनुसार निर्वाचित हुने पदाधिकारी तथा केन्द्रीय सदस्यले आगामी कार्यकालका लागि पार्टीको नेतृत्व सम्हाल्नेछन्।

सभापतिसहित प्रमुख पदमा प्रतिस्पर्धा रहेकाले शुक्रबारको मतदानबाट कांग्रेसको नयाँ नेतृत्व चयन हुनेछ। मतदानपछि आउने परिणामले पार्टीको आगामी संगठनात्मक नेतृत्व र राजनीतिक दिशासमेत निर्धारण गर्नेछ।