जनता टाइम्स

२३ आश्विन २०८३, शुक्रबार ०७:१२

दसैँतिहारका लागि अग्रिम टिकट बुकिङ खुला, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको लाइन


काठमाडौं, असोज २३ । दसैँतिहारलाई लक्षित गर्दै सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ आजदेखि खुला भएको छ । टिकट बुकिङ खुल्नुअघि नै काठमाडौंको नयाँ बसपार्कमा यात्रुको लामो लाइन लागेको छ ।

यातायात व्यवस्था विभागमा मंगलबार बसेको यातायात व्यवसायीलगायत सरोकारवाला निकायको संयुक्त बैठकले चाडपर्वलाई लक्षित गरी लामो तथा मध्यम दूरीका सवारीसाधनको अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो ।

नयाँ बसपार्क सञ्चालन गर्दै आएको लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक पंकज मल्लका अनुसार यात्रुहरू मंगलबार राति ९ बजेदेखि नै टिकट लिन लाइनमा बसेका छन् । बझाङ, बाजुरा र धनगढी जाने यात्रुहरू रातिदेखि नै नयाँ बसपार्कमा आएर लाइन बसेको उहाँले जानकारी दिनुभयो ।

अग्रिम टिकट बुकिङलाई सहज बनाउन लोत्से बहुउद्देश्यीय प्रालिले नयाँ बसपार्कमा १५ वटा टिकट काउन्टर थप गरेको छ ।

फूलपातीदेखि पूर्णिमासम्म रिजर्भ गाडी तथा लामो र मध्यम दूरीका सवारीसाधनलाई देशभरका लागि रुट परमिट खुला गरिने भएको छ । चाडपर्वका बेला सडकमा यातायातको चाप कम गर्न फलफूल, तरकारी, औषधि, खाद्यान्न तथा खसीबोकाजस्ता अत्यावश्यक सामग्री ढुवानी गर्ने सवारीसाधनलाई प्राथमिकता दिइनेछ ।

यात्रु ठगी तथा कालोबजारी रोक्न र भाडादरमा पारदर्शिता कायम गर्न प्रमुख नाका तथा बस स्टेसनहरूमा सहायता कक्षसमेत स्थापना गरिने भएको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौलाले दसैँलगायत चाडपर्वका समयमा सार्वजनिक सवारीसाधनको भाडादर वृद्धि नहुने बताउनुभएको छ । उहाँले यात्रुलाई पूर्वनिर्धारित भाडादरमै आवतजावतको व्यवस्था गर्न व्यवसायी प्रतिबद्ध रहेको जानकारी दिनुभयो ।

वर्षा र प्राकृतिक प्रकोपका कारण विभिन्न स्थानमा सडक बिग्रिएकाले जोखिम मोलेर सवारीसाधन नचलाउन पनि उहाँले चालकहरूलाई आग्रह गर्नुभएको छ ।