माधव ढकाल
रामेछाप प्राकृतिक सम्पदा, ऐतिहासिक गौरव, सांस्कृतिक विविधता र आर्थिक सम्भावनाले भरिपूर्ण जिल्ला हो। मध्यपहाडी भूभागदेखि उच्च हिमाली क्षेत्रसम्म फैलिएको यस जिल्लामा जलस्रोत, वनजंगल, कृषि, खनिज, पर्यटन र मानव पुँजीका प्रशस्त आधार छन्। तर विडम्बना, यति धेरै सम्भावना हुँदाहुँदै पनि रामेछापले अपेक्षित आर्थिक तथा औद्योगिक विकासको गति लिन सकेको छैन।
अब रामेछापको विकासलाई सडक, पुल र भवन निर्माणमा मात्र सीमित राख्ने होइन, जिल्लाभित्र उपलब्ध स्रोतसाधनको उपयोग गर्दै स्थानीय नागरिकको जीवनस्तर उकास्ने दिशामा अघि बढाउन आवश्यक छ। जलस्रोतलाई उद्योगसँग, कृषिलाई बजारसँग, शिक्षालाई रोजगारीसँग र पर्यटनलाई स्थानीय अर्थतन्त्रसँग जोड्न सकियो भने रामेछापलाई आत्मनिर्भर तथा समृद्ध जिल्लाका रूपमा विकास गर्न सकिन्छ।
तीन लालको गौरवशाली भूमि
रामेछाप एउटा प्रशासनिक जिल्ला मात्र होइन, नेपालको राजनीतिक, सामाजिक, साहित्यिक र वैचारिक इतिहासमा विशिष्ट पहिचान स्थापित गरेको गौरवशाली भूमि पनि हो। सहिद गंगालाल श्रेष्ठ, नेपाली साहित्यका प्रथम सहिदका रूपमा स्मरण गरिने सुब्बा कृष्णलाल अधिकारी तथा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको जन्मभूमि भएकाले रामेछापलाई ‘तीन लालको जिल्ला’ भनेर चिनिन्छ।
गंगालाल श्रेष्ठले निरंकुश शासनविरुद्ध संघर्ष गर्दै लोकतन्त्रका लागि जीवन उत्सर्ग गर्नुभयो। कृष्णलाल अधिकारीले साहित्य र लेखनमार्फत तत्कालीन शासन व्यवस्थाविरुद्ध चेतनाको आवाज उठाउनुभयो। पुष्पलाल श्रेष्ठले नेपालको कम्युनिष्ट आन्दोलनलाई वैचारिक तथा संगठनात्मक आधार प्रदान गर्नुभयो।
यी तीन ऐतिहासिक व्यक्तित्वको योगदान रामेछापको गौरव मात्र होइन, राष्ट्रिय राजनीतिक तथा सामाजिक चेतनाको महत्वपूर्ण सम्पत्ति पनि हो। यस जिल्लाले विभिन्न कालखण्डमा राजनीति, प्रशासन, शिक्षा, साहित्य, कला, संस्कृति, सञ्चार, उद्योग–व्यवसाय र सामाजिक सेवाका क्षेत्रमा प्रतिभाशाली व्यक्तित्वहरू जन्माउँदै आएको छ।
अब विगतको ऐतिहासिक गौरवलाई वर्तमानको आर्थिक विकास र भविष्यको समृद्धिसँग जोड्नु आवश्यक छ। इतिहासमा योगदान पुर्याउने जिल्लाले अब उत्पादन, उद्यमशीलता, रोजगारी र आर्थिक आत्मनिर्भरताको क्षेत्रमा पनि उदाहरण प्रस्तुत गर्न सक्नुपर्छ।
लामो प्रशासनिक इतिहास र मन्थलीको महत्व
रामेछापको इतिहास राजनीतिक तथा सामाजिक योगदानमा मात्र सीमित छैन। प्रशासनिक दृष्टिले पनि यस जिल्लाले लामो इतिहास बोकेको छ। वि.सं. १८३६ देखि वि.सं. २०४६ सम्म विभिन्न समयमा रामेछाप गौंडा, गोश्वारा, बडा हाकिमको अड्डा तथा अञ्चलस्तरीय र जिल्लास्तरीय प्रशासनिक केन्द्रका रूपमा स्थापित रहेको इतिहास छ।
वि.सं. २०४५ देखि सदरमुकाम मन्थलीमा प्रशासनिक गतिविधि सञ्चालन हुन थालेपछि मन्थली जिल्लाको प्रशासनिक, व्यापारिक तथा आर्थिक केन्द्रका रूपमा विकसित हुँदै आएको छ। भौगोलिक अवस्थिति र यातायात सम्पर्कका कारण मन्थलीलाई आसपासका पहाडी जिल्लासँगको व्यापारिक सम्बन्ध विस्तार गर्ने केन्द्रका रूपमा विकास गर्न सकिने सम्भावना छ।
यसका लागि व्यवस्थित सहरीकरण, व्यापारिक पूर्वाधार, यातायात सुविधा, उद्योग स्थापना र निजी क्षेत्रको लगानीलाई प्रोत्साहन गर्न आवश्यक छ।
भौगोलिक विविधता : चुनौती होइन, आर्थिक अवसर
रामेछापको सबैभन्दा ठूलो विशेषता यसको भौगोलिक विविधता हो। समुद्री सतहबाट करिब ४२६ मिटर उचाइमा रहेको लिखु र सुनकोसीको संगमस्थल कोलोन्जोरघाटदेखि करिब ६ हजार ९५८ मिटर अग्लो नुम्बुर हिमचुलीसम्म फैलिएको यस जिल्लामा फरक–फरक हावापानी र प्राकृतिक वातावरण पाइन्छ।
करिब १ हजार ५४६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको रामेछाप पूर्वमा ओखलढुङ्गा र सोलुखुम्बु, पश्चिममा सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोक, उत्तरमा दोलखा तथा दक्षिणमा सिन्धुलीसँग जोडिएको छ।
यस्तो भौगोलिक विविधताले कृषि, पशुपालन, फलफूल उत्पादन, जडीबुटी खेती र पर्यटन विकासका लागि अनुकूल आधार तयार गरेको छ। तल्लो क्षेत्रमा उष्ण तथा उपोष्ण हावापानीमा आधारित खेती, मध्यपहाडी क्षेत्रमा फलफूल तथा तरकारी उत्पादन र उच्च क्षेत्रमा आलु, फापर तथा सम्भाव्य जडीबुटी खेतीलाई व्यावसायिक बनाउन सकिन्छ।
भूगोललाई विकासको बाधाका रूपमा मात्र हेर्नुभन्दा त्यसलाई विविध उत्पादन र आर्थिक अवसरको आधार बनाउन आवश्यक छ। त्यसका लागि भूगोलअनुसारको कृषि योजना, प्राविधिक सहयोग, सिँचाइ, सडक तथा बजारको व्यवस्था अपरिहार्य छ।
जलस्रोत : विद्युत् उत्पादनसँगै स्थानीय समृद्धिको आधार
लिखु, तामाकोसी, खिम्ती र सुनकोसीलगायतका नदी तथा खोलाले रामेछापलाई जलस्रोतका दृष्टिले सम्भावनायुक्त जिल्ला बनाएका छन्। यी नदीमा जलविद्युत् उत्पादन, सिँचाइ, खानेपानी र अन्य आर्थिक गतिविधि विस्तार गर्न सकिने सम्भावना छ।
जिल्लामा करिब १४ वटा जलविद्युत् आयोजना निर्माण सम्पन्न वा निर्माणको अन्तिम चरणमा पुगेको र थप केही आयोजना अघि बढ्ने तयारीमा रहेको विवरणले रामेछापको जलविद्युत् क्षेत्रमा रहेको सम्भावना देखाउँछ।
तर जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत् र त्यसबाट प्राप्त हुने आर्थिक लाभ स्थानीय नागरिकको जीवनस्तर सुधारसँग कति जोडिएको छ भन्ने प्रश्न महत्वपूर्ण छ। ठूला आयोजना सञ्चालनमा आए पनि स्थानीय रोजगारी, उद्यम विकास, सडक, खानेपानी, शिक्षा, स्वास्थ्य र कृषि सिँचाइमा पर्याप्त लाभ पुग्न सकेन भने स्थानीय समृद्धिको लक्ष्य अधुरै रहन्छ।
त्यसैले जलविद्युत् विकासलाई स्थानीय अर्थतन्त्रसँग जोड्नुपर्छ। आयोजनामा स्थानीय जनशक्तिको सीप विकास, रोजगारी सिर्जना, स्थानीय व्यवसायलाई अवसर र पूर्वाधार विकासमा सहकार्यलाई प्राथमिकता दिन आवश्यक छ।
नदीमा पानी बगिरहने तर नदी आसपासका बस्तीमा सिँचाइ र खानेपानीको अभाव रहने अवस्था अन्त्य गर्न जलस्रोतको बहुउद्देश्यीय उपयोगमा ध्यान दिनुपर्छ।
खनिज सम्पदा : सम्भावनालाई उद्योगमा रूपान्तरण गरौँ
रामेछापमा फलाम, तामा, स्लेट, चुनढुङ्गा, बालुवा, मार्बल तथा म्याग्नेसाइटलगायतका खनिज पदार्थको सम्भावना रहेको विवरणले जिल्लाको आर्थिक विकासका लागि अर्को आधार देखाउँछ। विगतमा टोसे क्षेत्रमा फलामखानी सञ्चालन भएको इतिहास पनि छ।
तर खनिज सम्पदाको सम्भावना हुनु र त्यसबाट आर्थिक लाभ लिन सक्नु फरक विषय हुन्। वैज्ञानिक अध्ययन, विस्तृत अनुसन्धान, वातावरणीय मूल्याङ्कन, प्रविधि, लगानी र स्पष्ट नीतिको अभावमा यस्ता स्रोतको उपयोग कठिन हुन्छ।
सम्भावित खानीहरूको प्राविधिक तथा आर्थिक अध्ययन गरी वातावरणमैत्री र दिगो रूपमा सञ्चालन गर्न सकिने उद्योग पहिचान गर्नुपर्छ। सम्भव भएका क्षेत्रमा स्थानीय कच्चा पदार्थमा आधारित उद्योग स्थापना गर्न सके रोजगारी सिर्जना, स्थानीय उत्पादन वृद्धि र जिल्लाको अर्थतन्त्र विस्तारमा योगदान पुग्न सक्छ।
खनिज उत्खनन र उद्योग सञ्चालन गर्दा वातावरण संरक्षण, स्थानीय समुदायको अधिकार तथा प्राकृतिक सम्पदाको दीर्घकालीन सुरक्षालाई भने पहिलो प्राथमिकतामा राख्नुपर्छ।
कृषि र स्थानीय उत्पादन : आत्मनिर्भर अर्थतन्त्रको मेरुदण्ड
रामेछापको ठूलो जनसंख्या कृषि तथा पशुपालनमा निर्भर छ। जिल्लाका विभिन्न क्षेत्रमा जुनार, सुन्तला, किबी, कागती, आलु, मकै, धान, कोदो, फापर र गहुँलगायतका कृषि उत्पादन हुँदै आएका छन्। विशेषगरी जुनार र सुन्तलाले रामेछापलाई विशिष्ट कृषि पहिचान दिएका छन्।
तर कृषि उत्पादन हुनु मात्र पर्याप्त छैन। उत्पादनलाई प्रशोधन, प्याकेजिङ, ब्रान्डिङ, भण्डारण र बजार व्यवस्थापनसँग जोड्न सके मात्र किसानले उचित मूल्य पाउन सक्छन्।
रामेछापको जुनारलाई ‘रामेछाप जुनार’ नामबाट व्यवस्थित ब्रान्डिङ गरी राष्ट्रिय बजारमा स्थापित गर्न सकिन्छ। त्यस्तै किबी, सुन्तला, आलु तथा अन्य कृषि उत्पादनबाट जुस, जाम, अचार, चिप्स र अन्य प्रशोधित वस्तु उत्पादन गर्न सकिन्छ।
यसका लागि कृषि सहकारी, किसान समूह, निजी क्षेत्र र स्थानीय सरकारबीच सहकार्य आवश्यक छ। शीतभण्डार, संकलन केन्द्र, प्रशोधन उद्योग र बजारसम्म पुग्ने यातायात सुविधाको विकास गर्न सके कृषि उत्पादनको नोक्सानी घटाउनुका साथै किसानको आम्दानी बढाउन सकिन्छ।
कृषिलाई निर्वाहमुखी पेसाबाट व्यावसायिक उद्यममा रूपान्तरण गर्नु नै रामेछापको ग्रामीण अर्थतन्त्र बलियो बनाउने महत्वपूर्ण उपाय हो।
काठमाडौंमा रहेका रामेछापेली : लगानी र विकासका साझेदार
रामेछापको विकासको चर्चा गर्दा काठमाडौंलगायत जिल्लाबाहिर बसोबास गर्ने रामेछापेलीको भूमिका पनि महत्वपूर्ण हुन्छ। जिल्लाबाट बाहिरिएका धेरै नागरिक होटल, रेस्टुरेन्ट, बेकरी, निर्माण, व्यापार, सेवा तथा अन्य व्यवसायमा संलग्न छन्।
उनीहरूसँग रहेको पुँजी, सीप, अनुभव, व्यावसायिक सञ्जाल र उद्यमशीलतालाई जिल्लाको विकाससँग जोड्न सकिन्छ। यसका लागि लगानीमैत्री वातावरण, स्पष्ट नीति, सहज प्रशासनिक प्रक्रिया र लगानीको सुरक्षाको प्रत्याभूति आवश्यक हुन्छ।
‘रामेछापमा कमाऊ, रामेछापमै लगानी गर’ भन्ने अभियानमार्फत जिल्लाबाहिर रहेका उद्यमी तथा व्यवसायीलाई कृषि उद्योग, पर्यटन, होटल, प्रशोधन उद्योग र सेवा क्षेत्रमा लगानी गर्न प्रोत्साहित गर्न सकिन्छ।
स्थानीय सरकार, निजी क्षेत्र र जिल्लाबाहिर रहेका रामेछापेलीबीच सहकार्यको प्रभावकारी संयन्त्र निर्माण गर्न सके बाहिरिएको पुँजी र अनुभवलाई जिल्लाको उत्पादन तथा रोजगारी वृद्धिमा उपयोग गर्न सकिन्छ।
शिक्षा र सीप : स्थानीय आवश्यकताअनुसार जनशक्ति उत्पादन
रामेछापमा पाँचवटा क्याम्पस तथा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गतका प्राविधिक शिक्षण संस्थाहरू सञ्चालनमा रहेको विवरण छ। कृषि, भेटेरिनरी र सिभिल इन्जिनियरिङलगायतका विषय अध्ययन गर्ने अवसर पनि उपलब्ध छ।
अब शिक्षालाई प्रमाणपत्र प्राप्तिमा मात्र सीमित नराखी स्थानीय अर्थतन्त्रको आवश्यकतासँग जोड्नुपर्छ। जलविद्युत् आयोजना सञ्चालनमा रहेका क्षेत्रमा हाइड्रोसम्बन्धी प्राविधिक जनशक्ति, कृषि क्षेत्रमा कृषि तथा पशुपालन विशेषज्ञ र पर्यटन क्षेत्रमा होटल व्यवस्थापन, भाषा, आतिथ्य सेवा तथा पर्यटक पथप्रदर्शनसम्बन्धी सीप भएका जनशक्ति उत्पादन गर्न सकिन्छ।
शिक्षण संस्था, उद्योग, स्थानीय सरकार र निजी क्षेत्रबीच सहकार्य गरी सीपमूलक तालिम, व्यावहारिक शिक्षा तथा रोजगारीका अवसर विस्तार गर्न आवश्यक छ।
जिल्लाभित्रै सीप सिक्ने, काम गर्ने र उद्यम सञ्चालन गर्ने अवसर बढाउन सकियो भने युवालाई रोजगारीका लागि काठमाडौं वा विदेश जानुपर्ने बाध्यता कम गर्न मद्दत पुग्नेछ।
स्वास्थ्य सेवा : क्षेत्रीय उपचार केन्द्र बन्ने अवसर
रामेछापका स्थानीय तहमा आधारभूत स्वास्थ्य सेवा विस्तार भइरहेको छ भने जिल्लाकाे पुरानाे सदरमुकाममा रामेछाप अस्पताल रहेको छ। जिल्ला सदरमुकाममा मन्थली अस्पालता र आयुर्वेद चिकित्सालय लगायतका अस्पतालहरु छन् । अब स्वास्थ्य सेवाको गुणस्तर र पहुँच बढाउँदै विशेषज्ञ उपचारको क्षमता विस्तार गर्न आवश्यक छ।
रामेछापको भौगोलिक अवस्थिति र आसपासका जिल्लासँगको सम्पर्कलाई ध्यानमा राखेर रामेछाप अस्पताललाई क्षेत्रीय स्तरको स्तरीय स्वास्थ्य संस्थाका रूपमा विकास गर्ने सम्भावना छ।
विशेषज्ञ चिकित्सक, आधुनिक प्रयोगशाला, आकस्मिक सेवा, प्रसूति तथा शल्यक्रिया सेवा, सघन उपचार कक्ष र आवश्यक उपकरणको व्यवस्था, प्रभावकारी आयुर्वेदिक उपचार गर्न सके सामान्य उपचारका लागि समेत काठमाडौं जानुपर्ने नागरिकको बाध्यता कम गर्न सकिन्छ।
स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन भौतिक पूर्वाधार निर्माणसँगै दक्ष जनशक्ति, नियमित औषधि आपूर्ति र गुणस्तरीय सेवाको सुनिश्चितता पनि उत्तिकै आवश्यक छ। आयुर्वेद, योग तथा प्राकृतिक उपचारका सम्भावनालाई समेत व्यवस्थित रूपमा विकास गर्न सकिन्छ।
पर्यटन : हिमालदेखि नदीसम्म, संस्कृतिदेखि साहसिक यात्रासम्म
प्राकृतिक सौन्दर्य, धार्मिक सम्पदा र सांस्कृतिक विविधताका कारण रामेछाप पर्यटन विकासका लागि सम्भावनायुक्त जिल्ला हो। नुम्बुर हिमशृङ्खला, पाँचपोखरी, जटापोखरी, उच्च पहाडी भूभाग तथा लिखु, सुनकोसी, खिम्ती र तामाकोसी नदीलाई पर्यटनसँग जोड्न सकिन्छ।
पदयात्रा, हिमाली पर्यटन, धार्मिक यात्रा, होमस्टे, कृषि पर्यटन, नदी पर्यटन र साहसिक गतिविधिका माध्यमबाट जिल्लामा पर्यटक आकर्षित गर्न सकिन्छ। सम्भाव्यता र वातावरणीय अवस्थाअनुसार नदीमा र्याफ्टिङलगायतका गतिविधि पनि विकास गर्न सकिन्छ।
मन्थलीलाई पर्यटन प्रवेशद्वारका रूपमा विकास गर्दै जिल्लाका विभिन्न गन्तव्यलाई सडक, सञ्चार तथा डिजिटल पूर्वाधारसँग जोड्न आवश्यक छ। पर्यटनसम्बन्धी प्रचार–प्रसार, पर्यटकमैत्री सेवा, स्थानीय उत्पादनको बिक्री र समुदायमा आधारित पर्यटनलाई प्राथमिकता दिनुपर्छ।
रामेछापका जातजाति, भाषा, कला, संस्कृति, धार्मिक स्थल र मौलिक परम्परालाई पर्यटनसँग जोड्न सके स्थानीय पहिचानको संरक्षण हुनुका साथै स्थानीय समुदायको आम्दानीसमेत बढ्न सक्छ।
पर्यटनलाई केवल पर्यटक घुमाउने गतिविधिका रूपमा नभई कृषि, यातायात, होटल, हस्तकला र स्थानीय व्यापारलाई चलायमान बनाउने आर्थिक क्षेत्रका रूपमा विकास गर्नुपर्छ।
मुख्य चुनौती : स्रोत छन्, उपयोग र व्यवस्थापन कमजोर
रामेछापको प्रमुख चुनौती प्राकृतिक स्रोतको अभाव होइन, उपलब्ध स्रोतलाई योजनाबद्ध रूपमा उपयोग गर्न नसक्नु हो। जलस्रोत छ, तर स्थानीय अर्थतन्त्रसँग पर्याप्त जोडिन सकेको छैन। खनिजको सम्भावना छ, तर वैज्ञानिक अध्ययन र उद्योग विकास आवश्यक छ। कृषि उत्पादन छ, तर प्रशोधन तथा बजार व्यवस्थापन कमजोर छ। पर्यटनका गन्तव्य छन्, तर पूर्वाधार र प्रचार–प्रसार विस्तार गर्न बाँकी छ।
शिक्षा र सीपलाई स्थानीय रोजगारीसँग जोड्ने काम पनि अझ प्रभावकारी बनाउन आवश्यक छ। अर्कोतर्फ, ठूलो संख्यामा युवा जिल्लाबाहिर जाने प्रवृत्तिले स्थानीय उत्पादन र उद्यम विकासमा चुनौती थपेको छ।
यी समस्याको समाधानका लागि स्रोतको वैज्ञानिक अध्ययन, दीर्घकालीन योजना, लगानीमैत्री वातावरण, प्रभावकारी कार्यान्वयन र सुशासन आवश्यक हुन्छ। विकासका कार्यक्रमलाई छरिएर सञ्चालन गर्नुभन्दा जिल्लाको भौगोलिक तथा आर्थिक विशेषताअनुसार प्राथमिकता निर्धारण गर्नुपर्छ।
अबको कार्यदिशा : पाँच आधारमा समृद्धिको अभियान
रामेछापको आर्थिक रूपान्तरणका लागि जलस्रोत, खनिज, कृषि, पर्यटन र मानव पुँजीलाई मुख्य आधार बनाउन सकिन्छ।
पहिलो, जलविद्युत् आयोजनाबाट स्थानीय रोजगारी र पूर्वाधार विकासमा प्रत्यक्ष लाभ पुर्याउने नीति अवलम्बन गर्नुपर्छ।
दोस्रो, कृषि उत्पादनको प्रशोधन, ब्रान्डिङ, भण्डारण र बजारीकरणमार्फत किसानको आम्दानी बढाउनुपर्छ।
तेस्रो, खनिज तथा अन्य प्राकृतिक स्रोतको वैज्ञानिक अध्ययन गरी वातावरणमैत्री उद्योग विकासको सम्भावना पहिचान गर्नुपर्छ।
चौथो, पर्यटन गन्तव्यको पहिचान, पूर्वाधार विस्तार र स्थानीय संस्कृति तथा उत्पादनको प्रवर्द्धन गर्नुपर्छ।
पाँचौँ, प्राविधिक शिक्षा, सीप विकास र उद्यमशीलतालाई स्थानीय अर्थतन्त्रसँग जोड्नुपर्छ।
यी प्राथमिकतालाई कार्यान्वयन गर्न संघ, प्रदेश र स्थानीय सरकारबीच प्रभावकारी समन्वय हुन आवश्यक छ। निजी क्षेत्र, सहकारी, स्थानीय समुदाय र जिल्लाबाहिर रहेका रामेछापेलीको पुँजी तथा सीपलाई समेत विकास अभियानमा सहभागी गराउनुपर्छ।
निष्कर्ष : समृद्धिको आधार रामेछापभित्रै छ
रामेछाप सम्भावना नभएको जिल्ला होइन; उपलब्ध सम्भावनाको पूर्ण उपयोग गर्न नसकेको जिल्ला हो। लिखु, तामाकोसी र खिम्तीका जलस्रोतदेखि पहाडभित्र रहेका खनिजसम्म, जुनारका बगैँचादेखि किबी खेतीसम्म र हिमाली दृश्यदेखि धार्मिक तथा सांस्कृतिक सम्पदासम्म यहाँ समृद्धिका अनेक आधार छन्।
अब आवश्यकता नयाँ सम्भावना खोज्ने मात्र होइन, भएका सम्भावनालाई उत्पादन, रोजगारी र आम्दानीसँग जोड्ने हो। जलस्रोतलाई उद्योगसँग, कृषिलाई बजारसँग, शिक्षालाई सीप र रोजगारीसँग तथा पर्यटनलाई स्थानीय उत्पादनसँग जोड्न सकियो भने रामेछापको आर्थिक अवस्था बदल्न सकिन्छ।
रामेछापको समृद्धि बाहिरबाट आउने सहयोगमा मात्र निर्भर हुनु हुँदैन। जिल्लाभित्र उपलब्ध स्रोतसाधन, स्थानीय नागरिकको श्रम, युवाको सीप, उद्यमीको पुँजी र समुदायको सक्रिय सहभागितालाई एकीकृत गर्न सक्नुपर्छ।
यसका लागि दूरदर्शी नेतृत्व, स्पष्ट विकास योजना, पारदर्शी कार्यशैली, सुशासन र लगानीमैत्री वातावरण अपरिहार्य छन्। विकासको सफलता सडक र भवनको संख्याले मात्र होइन, नागरिकको आय, रोजगारी, शिक्षा, स्वास्थ्य र जीवनस्तरमा आएको सुधारले मापन गरिनुपर्छ।
‘तीन लालको जिल्ला’ भनेर गौरव गर्ने रामेछापले अब उत्पादन, उद्यमशीलता र आत्मनिर्भरताको नयाँ पहिचान निर्माण गर्नुपर्ने समय आएको छ। उपलब्ध स्रोतको विवेकपूर्ण उपयोग र सबै पक्षको साझा प्रयासबाट रामेछापलाई सम्भावनाको जिल्लाबाट समृद्धिको जिल्लामा रूपान्तरण गर्न सकिन्छ। रामेछापको समृद्धिको आधार रामेछापभित्रै छ; अब त्यसलाई व्यवहारमा उतार्ने स्पष्ट योजना, प्रतिबद्धता र कार्यान्वयनको खाँचो छ।












प्रतिक्रिया दिनुहोस्