काठमाडौं, असोज २३ । देशका विभिन्न स्थानमा आज हल्कादेखि भारी वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो र राति कोसी, वाग्मती र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्नेछ ।
महाशाखाका अनुसार दिउँसो हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रहनेछ । मधेस प्रदेश तथा कोसी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा पनि साधारणतया बदली रहनेछ भने बाँकी तराई क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान छ ।
हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । मधेससहित कोसी र सुदूरपश्चिम प्रदेशको तराईका केही स्थान तथा वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ ।
दिउँसो कोसी र वाग्मती प्रदेशका पहाडी भूभाग तथा कोसी प्रदेशको तराईका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
राति पनि हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रहनेछ । कोसी प्रदेशको हिमाली तथा पहाडी भूभागका केही स्थान, वाग्मती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका थोरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्नेछ ।
राति कोसी प्रदेशको तराईका केही स्थान, मधेस प्रदेशका थोरै स्थान तथा वाग्मती र गण्डकी प्रदेशका तराई क्षेत्रका एक–दुई स्थानमा पनि मध्यम वर्षाको सम्भावना छ । कोसी प्रदेशको पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाको पूर्वानुमान छ ।
महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीसँगै मनसुनी वायुको प्रभाव रहेको छ ।












प्रतिक्रिया दिनुहोस्