काठमाडौं, असोज २३ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि हुने मतदानमा सहभागी हुन प्रतिनिधिहरू बिहानैदेखि लाइनमा बसेका छन् । निर्वाचन समितिका अनुसार बिहान ७ बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएको छ ।
निर्वाचन समिति सदस्यसचिव राजु कटुवालका अनुसार महाधिवेशनमा मतदानका लागि ७ हजार ३१७ प्रतिनिधि रहेको विवरण छ । निर्वाचन समितिका अनुसार भने नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि ७ हजार २५५ प्रतिनिधिले मतदान गर्नेछन् ।
मतपत्रमा हस्ताक्षर गर्ने काम जारी रहेकाले मतदानको तयारी अन्तिम चरणमा पुगेको निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले बताउनुभयो । उम्मेदवार र मतदाताको संख्या धेरै भएकाले मतपत्र छपाइमा ढिलाइ भएको उहाँले जानकारी दिनुभयो । मतपत्रमा हस्ताक्षर गर्न ३२ जना वरिष्ठ अधिवक्ता खटिएको उहाँको भनाइ छ ।
प्रदेश र समूहअनुसार मतदान केन्द्र
निर्वाचन समितिले प्रतिनिधिहरूको सहजताका लागि प्रदेश तथा समूहअनुसार विभिन्न मतदान केन्द्र तोकेको छ ।
राष्ट्रिय सभागृहको मतदान केन्द्र ‘क’ मा वाग्मती प्रदेशका प्रतिनिधिले मतदान गर्नेछन् । खुलामञ्चको मतदान केन्द्र ‘ख’ मा कोसी प्रदेश तथा तराई–मधेस समूहका प्रतिनिधिका लागि व्यवस्था गरिएको छ ।
त्यस्तै, हिमाल हलमा गण्डकी प्रदेशका प्रतिनिधि र तराई–मधेस हलमा मधेस प्रदेशका प्रतिनिधिले मतदान गर्नेछन् । पहाड हलमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै नेपाली जनसम्पर्क समिति र भ्रातृ संस्थातर्फका प्रतिनिधिले मतदान गर्ने व्यवस्था गरिएको छ ।
परिचयपत्र र नामावली रुजु गरिने
मतदानस्थलमा प्रवेश गरेपछि प्रतिनिधिहरूले आफूलाई तोकिएको केन्द्रमा जानुपर्नेछ । मतदान गर्नुअघि परिचयपत्र र मतदाता नामावली रुजु गरिनेछ । रुजु प्रक्रिया पूरा भएपछि मात्रै मतदान गर्न पाइने निर्वाचन समितिले जनाएको छ ।
निर्वाचन आचारसंहिताले निषेध गरेका मोबाइल फोनलगायत सामग्री मतदानस्थलमा लैजान पाइने छैन । प्रतिनिधिहरूले निर्वाचन समितिले तोकेको प्रक्रिया पालना गर्नुपर्नेछ ।
प्रतिनिधिको खाना र होटल खर्च पार्टीले व्यहोर्ने
महाधिवेशन एक दिन लम्बिएकाले शुक्रबार प्रतिनिधिहरूको होटल बसाइ र खानाको खर्च पार्टीले नै व्यहोर्ने आर्थिक व्यवस्थापन समिति संयोजक उमेश श्रेष्ठले बताउनुभएको छ ।
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उम्मेदवारी दर्ता, दाबी–विरोध र उम्मेदवारी फिर्ताको प्रक्रिया पूरा भइसकेको छ । निर्वाचन समितिले उम्मेदवारको अन्तिम नामावलीसमेत सार्वजनिक गरिसकेको छ ।
मतदानबाट सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री तथा विभिन्न समूहका केन्द्रीय सदस्य निर्वाचित हुनेछन् । महाधिवेशनले विधान संशोधन गर्दै कांग्रेसको केन्द्रीय कार्यसमिति २९७ सदस्यीय बनाएको छ ।
मतदान सम्पन्न भएपछि आवश्यक प्रक्रिया पूरा गरी मतगणना सुरु गरिने निर्वाचन समितिले जनाएको छ ।












प्रतिक्रिया दिनुहोस्