काठमाडौं, असोज २३ । सन् २०२६ को नोबेल शान्ति पुरस्कार आज नर्वेको राजधानी ओस्लोमा घोषणा हुँदैछ ।
यो पुरस्कारका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, क्यानडाका प्रधानमन्त्री मार्क कार्नी, पोप लियो चौधौँ र सुडानको नागरिक सञ्जाल ‘इमर्जेन्सी रेस्पोन्स रुम्स’लगायत सम्भावित दाबेदारका रूपमा चर्चामा रहनुभएको अन्तराष्ट्रिय समाचार एजेन्सीहरूले जनाएका छन ।
राष्ट्रपति ट्रम्पको आठ वर्षदेखिको आकांक्षा
अमेरिकी राष्ट्रपति ट्रम्पले सन् २०१८ देखि नोबेल शान्ति पुरस्कार पाउने इच्छा व्यक्त गर्दै आउनुभएको छ । सन् २०१९ मा जापानका तत्कालीन प्रधानमन्त्री शिन्जो आबेले आफूलाई मनोनयन गरेको उहाँको दाबी थियो । सन् २०२० मा पूर्वराष्ट्रपति बराक ओबामाले पुरस्कार पाउन सक्ने भए आफूले पनि पाउनुपर्ने तर्क ट्रम्पको थियो ।
गत वर्ष भारत–पाकिस्तानसहित आठ वटा युद्ध रोकेको दाबी गर्दै उहाँले आफू पुरस्कारको हकदार रहेको बताउनु भएको थियो । सन् २०२५ की विजेता भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना मचाडोले पनि गत जनवरीमा ट्रम्पलाई आफ्नो नोबेल पदक सुम्पिनुभएको थियो । भेनेजुएलाको स्वतन्त्रताका लागि ट्रम्पको समर्थनको सम्मानस्वरूप पदक दिएको मचाडोको भनाइ थियो ।
तर, नर्वेजियन नोबेल समितिले पुरस्कारको सम्मान र मान्यता विजेता घोषित व्यक्ति वा संस्थासँगै रहने स्पष्ट पारेको थियो । यसबर्ष इजरायल, कम्बोडिया र पाकिस्तानका नेताहरूले ट्रम्पलाई मनोनयन गरेको बताएका छन् । यद्यपि, मनोनयन गोप्य राखिने भएकाले उमेदवारहरूको अन्तिम सूची सार्वजनिक गरिँदैन ।
यस वर्ष पुरस्कारका लागि २८७ उम्मेदवार दर्ता भएका छन्, जसमा २०८ व्यक्ति र ७९ संस्था रहेका छन् । विभिन्न सर्वेक्षण तथा सट्टेबाजी बजारका अनुमानले ट्रम्पको जित्ने सम्भावना न्यून देखाएको समाचार अनलाइन पोर्टल टाइम डट कमले जनाएको छ ।
मार्क कार्नी, क्यानडाका प्रधानमन्त्री
अमेरिकासँगको व्यापारिक तनाव र क्यानडालाई अमेरिकाको ५१औँ राज्य बनाउने ट्रम्पको अभिव्यक्तिबीच कार्नीले चीन र युरोपसँग व्यापारिक तथा कूटनीतिक सम्बन्ध विस्तार गर्नुभएको छ । पोलीमार्केटले उहाँको पुरस्कार जित्ने सम्भावना एक प्रतिशत आँकेको छ ।
पोप लियो चौधौँ
अप्रिल २०२५ मा क्याथोलिक चर्चको प्रमुख बन्नुभएका पहिलो अमेरिकी पोप लियो चौधौँले गाजा, रुस–युक्रेन युद्ध र इरानसम्बन्धी तनावमा शान्तिका लागि आह्वान गर्दै आउनुभएको छ । उहाँले शान्ति हतियार वा धम्कीबाट नभई जिम्मेवार संवादबाट सम्भव हुने बताउनु भएको थियो । उहाँको सम्भावना पनि एक प्रतिशत आँकिएको छ ।
माइकोला कुलेबा, ‘सेभ युक्रेन’का सहसंस्थापक
सन् २०१४ मा स्थापना गरिएको ‘सेभ युक्रेन’ ले रुसको आक्रमणपछि बेपत्ता भएका युक्रेनी बालबालिकालाई परिवारसँग पुनर्मिलन गराउने काम गर्दै आएको छ । संस्थाले हालसम्म एक हजार ७६३ बालबालिकालाई परिवारसँग भेट गराएको दाबी छ । पोलीमार्केटले कुलेबाको सम्भावना नौ प्रतिशत आँकेको छ ।
युलिया नाभाल्नाया
रुसी विपक्षी नेता दिवंगत एलेक्सी नाभाल्नीकी पत्नी नाभाल्नायाले सन् २०२४ मा पतिको निधनपछि राष्ट्रपति भ्लादिमिर पुटिनको शासनविरुद्ध र लोकतन्त्रका पक्षमा अभियान जारी राख्नुभएको छ । पोलीमार्केटका अनुसार उहाँको सम्भावना पाँच प्रतिशत छ ।
सुडानको ‘इमर्जेन्सी रेस्पोन्स रुम्स’ (ईआरआर)
सन् २०२३ मा सुडानमा गृहयुद्ध सुरु भएपछि स्थानीय नागरिकले राहत तथा उद्धारको जिम्मेवारी सम्हालेका थिए । ईआरआरले सामुदायिक भान्सा, क्लिनिक र अन्य राहत सेवा सञ्चालन गर्दै आएको छ ।
सुडानका १८ वटै राज्यमा ७०० भन्दा बढी ईआरआर सक्रिय छन् । तिनले २६ हजारभन्दा बढी स्वयंसेवक परिचालन गर्दै स्वास्थ्य सेवा, खाद्य सहायता, शिक्षा र नागरिक सुरक्षामा सहयोग गरिरहेका छन् । पोलीमार्केटले यस सञ्जालको पुरस्कार जित्ने सम्भावना १७ प्रतिशत आँकेको छ ।













प्रतिक्रिया दिनुहोस्