जनता टाइम्स

२३ आश्विन २०८३, शुक्रबार १६:०९

इनरुवा अस्पतालले भर्ना नलिएको आरोप, एम्बुलेन्समै शिशुको जन्म


काठमाडौं, २३ असोज । प्रसव पीडामा रहेकी महिलालाई जिल्ला अस्पताल इनरुवाले भर्ना नलिएको आरोप लागेको छ। अस्पतालबाट रेफर गरिएकी सुनसरीको कोशी गाउँपालिका–३ की लालु सदाले विराटनगरस्थित कोशी अस्पताल पुग्ने क्रममा एम्बुलेन्समै शिशुलाई जन्म दिनुभएको हो।

परिवारका अनुसार सदालाई असोज २१ गते राति प्रसव पीडा भएपछि इनरुवा अस्पताल पुर्‍याइएको थियो। तर, आवश्यक कागजात नपुगेको र अवस्था जटिल रहेको भन्दै अस्पतालले भर्ना लिन नमानेको परिवारको आरोप छ। स्वास्थ्य जाँच र प्राथमिक उपचारबिनै अन्यत्र पठाउन खोजिएको उनीहरूको गुनासो छ।

त्यसपछि आफन्त र सहयोगीको पहलमा उहाँलाई विराटनगरस्थित कोशी अस्पताल लगिएको थियो। अस्पताल परिसरबाहिर पुग्ने क्रममा एम्बुलेन्समै उहाँको प्रसूति भएको परिवारले जनाएको छ। आमा र नवजात शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको र दुवैलाई घर लगिएको बताइएको छ।

घटनाबारे जिल्ला अस्पताल इनरुवाका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. सन्तोषप्रसाद साहले भने कागजातका कारण नभई स्वास्थ्य जोखिमका कारण बिरामीलाई रेफर गरिएको बताउनुभयो।

उहाँका अनुसार गर्भमा रहेको शिशुको मुटुको धड्कन अनियमित र आमाको हेमोग्लोबिन कम देखिएकाले नवजात शिशुको सघन उपचार कक्ष (एनआईसीयू) सहितको सुविधा भएको अस्पतालमा पठाइएको हो।

अस्पतालमा २४ सै घण्टा १५ शय्याको आकस्मिक सेवा सञ्चालनमा रहेको र सुरक्षित प्रसूति तथा आमा सुरक्षा कार्यक्रमअन्तर्गत सेवा उपलब्ध हुने व्यवस्था छ। घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि अस्पतालको सेवा प्रवाहबारे प्रश्न उठेका छन्।

स्थानीयले घटनाको छानबिन गरी जिम्मेवार पक्षमाथि कारबाही गर्न माग गरेका छन्।