जनता टाइम्स

२३ आश्विन २०८३, शुक्रबार २१:११

दसैँमा तपाईँको घर पुग्न कति भाडा तिर्नुपर्छ ? हेर्नुहाेस् सूची


काठमाडौं, असोज २३ । दसैँका लागि अग्रिम टिकट बुकिङ खुला भएसँगै यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनको भाडादर सार्वजनिक गरेको छ।

विभागले छोटो, मध्यम र लामो दूरीमा सञ्चालन हुने सार्वजनिक सवारीको भाडादर समायोजन गरेको जनाएको छ। तर, विद्युतीय सवारीसाधन (ईभी) का लागि भने २०८१ सालमा निर्धारण गरिएको भाडादर नै कायम रहेको छ।

विभागका अनुसार तराई तथा पहाडी क्षेत्रमा सञ्चालन हुने यात्रुवाहक र मालवाहक सवारीको भाडादर परिमार्जन गरिएको छ।

तराईको लामो दूरी अर्थात् २५० किलोमिटरभन्दा बढीको पक्की तथा ग्राभेल सडकमा यात्रुवाहक सवारीको भाडा प्रतिकिलोमिटर प्रतिव्यक्ति २ रुपैयाँ ९३ पैसा निर्धारण गरिएको छ। त्यस्तै, २५ देखि २५० किलोमिटरसम्मको दूरीमा प्रतिकिलोमिटर प्रतिव्यक्ति ३ रुपैयाँ कायम गरिएको छ।

काठमाडौँ–पोखरा र पोखरा–नारायणगढ सडकखण्डमा भने प्रतिकिलोमिटर प्रतिव्यक्ति ३ रुपैयाँ २४ पैसा भाडादर कायम गरिएको विभागले जनाएको छ।

विभागबाट प्रमाणित डिलक्स सुविधा भएका यात्रुवाहक सवारीले निर्धारित भाडादरमा २० प्रतिशतसम्म थप रकम लिन पाउनेछन्। सुपर डिलक्स सुविधा प्रमाणित भएका सवारीले डिलक्सको भाडादरमा थप २० प्रतिशत रकम लिन सक्ने व्यवस्था गरिएको छ।

मालवाहक सवारीसाधनको भाडादर पनि प्रतिटन प्रतिकिलोमिटरका आधारमा निर्धारण गरिएको छ। तराई क्षेत्रमा प्रतिटन प्रतिकिलोमिटर ७ रुपैयाँ ७२ पैसा र पहाडी क्षेत्रमा १४ रुपैयाँ ७७ पैसा भाडादर कायम गरिएको छ।

विभागले १० टनका आधारमा हिसाब गरी विभिन्न रुटका लागि छुट्टाछुट्टै मालवाहक भाडादर निर्धारण गरेको जनाएको छ।