रामेछाप, असोज २३। स्थानीय २५ जना महिलाले मासिक १० रुपैयाँ बचत संकलन गरेर सुरु गरेको नवजागरण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, मन्थली, रामेछापको वार्षिक कारोबार ७५ करोड रुपैयाँ नाघेको छ। सहकारीको २८औँ वार्षिक साधारण सभाकाे निर्णय प्रमाणीकरण सभामा साे कुराकाे जानकारी दिइएकाे हाे ।
गत असोज १२ गतेदेखि सुरु भएको साधारण सभा संस्थाको कार्यक्षेत्रभित्रका पाँचवटा इकाईमा सञ्चालन गरिएको थियो। विभिन्न इकाईमा सम्पन्न सभाबाट पारित निर्णयहरूलाई शुक्रबार मन्थलीमा आयोजित प्रमाणीकरण सभामार्फत औपचारिकता दिइएको संस्थाका व्यवस्थापक रमेश उदासले जानकारी दिनुभयो।
उहाँका अनुसार साधारण सभाले आर्थिक वर्ष २०८२/८३ को प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तावित योजना, कार्यक्रम र बजेट सर्वसम्मत रूपमा स्वीकृत गरेको छ।
संस्थाका अध्यक्ष सोमेश थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सल्लाहकारद्वय जगन्नाथ दाहाल र नवराज पथिकको आतिथ्यता रहेको थियो। कार्यक्रममा सञ्चालक समितिका सचिव नारायणबहादुर कार्कीले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष भीमसेन थापाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। सभामा विभिन्न इकाईबाट छनोट हुनुभएका २४ जना प्रतिनिधि, सञ्चालक समिति तथा उपसमितिका सदस्यहरू र कर्मचारीहरूको उपस्थिति रहेको थियो।
२०५५ साल साउन १२ गते साविक मन्थली गाविसका वडा नम्बर ७ र ८ का २५ जना महिलाको सक्रियतामा नवजागरण सहकारी स्थापना भएको थियो। सुरुवाती चरणमा प्रतिसदस्य मासिक १० रुपैयाँ बचत संकलन गरी साना व्यवसाय सञ्चालन गर्न तथा घरायसी आवश्यकता पूरा गर्न सदस्यहरूलाई ऋण उपलब्ध गराउने उद्देश्यले सहकारीले काम सुरु गरेको थियो।
समयक्रमसँगै सदस्यहरूको संख्या र संस्थाप्रतिको विश्वास बढ्दै गएपछि २०६२ साल चैत ६ गते सम्पन्न विशेष साधारण सभाले कार्यक्षेत्र विस्तार गर्ने निर्णय गरेको थियो। त्यसपछि मन्थली सदरमुकाममा मुख्य कार्यालय स्थापना गरी संस्थाले आफ्नो सेवा क्षेत्र फराकिलो बनाएको हो। हाल सहकारीले रामेछाप जिल्लाका मन्थली नगरपालिका, रामेछाप नगरपालिका, खाँडादेवी गाउँपालिका र लिखु तामाकोसी गाउँपालिका गरी चारवटा स्थानीय तहमा वित्तीय सेवा प्रदान गर्दै आएको छ।
सहकारीले सदस्यहरूलाई आत्मनिर्भर बनाउन तथा उनीहरूको आयआर्जन क्षमता अभिवृद्धि गर्न उत्पादनशील, सीपमूलक र आयमूलक क्षेत्रमा सुलभ ब्याजदरमा ऋण उपलब्ध गराउँदै आएको छ। त्यस्तै, बचतकर्तालाई प्रतिस्पर्धात्मक ब्याजदर प्रदान गर्दै ग्रामीण अर्थतन्त्रको सुदृढीकरणमा योगदान पुर्याउँदै आएको संस्थाले जनाएको छ।

कोषाध्यक्ष भीमसेन थापाले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदनअनुसार संस्थामा कुल ९ हजार १६५ जना शेयर सदस्य आबद्ध छन्। तीमध्ये ४ हजार ६५६ महिला, ४ हजार ४८८ पुरुष र २१ संस्थागत सदस्य रहेका छन्। अघिल्लो आर्थिक वर्षमा संस्थाका शेयर सदस्यको संख्या ९ हजार ८५ रहेको थियो।
गत असार मसान्तसम्म संस्थाको चुक्ता शेयर पुँजी ४ करोड १७ लाख ८४ हजार ६०० रुपैयाँ पुगेको छ। त्यस्तै, कुल बचत ५४ करोड ३० लाख ९६ हजार ११८ रुपैयाँ रहेको छ। अघिल्लो आर्थिक वर्षमा कुल बचत ५४ करोड १३ लाख १५ हजार २०७ रुपैयाँ थियो।
प्रतिवेदनअनुसार संस्थाले विभिन्न क्षेत्रमा ३२ करोड ५८ लाख ३९ हजार ५४२ रुपैयाँ ऋण लगानी गरेको छ। संस्थाको जगेडा कोषमा ६ करोड ९७ लाख २७ हजार ६७९ रुपैयाँ र अन्य कोषमा ४५ लाख ७६ हजार १४६ रुपैयाँ सञ्चित रहेको छ।
संस्थाले प्रस्तुत गरेको विवरणअनुसार बचत, ऋण लगानी, शेयर पुँजी तथा विभिन्न कोषमा रहेको रकमले सहकारीको वित्तीय आधार र संस्थागत क्षमता विस्तार हुँदै गएको देखाउँछ।
नवजागरण सहकारीले वित्तीय कारोबारसँगै सामाजिक उत्तरदायित्वका क्षेत्रमा पनि योगदान दिँदै आएको छ। गत आर्थिक वर्षमा संस्थामा आबद्ध भई निधन भएका ३८ जना सदस्यका परिवारलाई राहतस्वरूप प्रतिपरिवार २० हजार रुपैयाँका दरले कुल ७ लाख ६० हजार रुपैयाँ आर्थिक सहायता वितरण गरिएको संस्थाले जनाएको छ।
संस्था जिल्ला स्तरमा जिल्ला बचत संघ र जिल्ला सहकारी संघ, प्रदेश स्तरमा बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ र बागमती प्रदेश सहकारी संघ तथा राष्ट्रिय स्तरमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) र राष्ट्रिय सहकारी बैंक लिमिटेडमा आबद्ध रहेको छ।
२८औँ वार्षिक साधारण सभाबाट आगामी आर्थिक वर्षका योजना तथा कार्यक्रम सर्वसम्मत रूपमा स्वीकृत भएसँगै संस्थाले आगामी कार्यदिशासमेत तय गरेको छ।













प्रतिक्रिया दिनुहोस्