काठमाडौं, असोज २३ । गृह मन्त्रालयले मातहतका प्रहरी कर्मचारीबाट हुने पदीय आचरणविपरीतका गतिविधि, संवेदनशील सूचना चुहावट र शान्ति सुरक्षामा असर पार्ने कार्यमाथि सूक्ष्म निगरानी भइरहेको जनाएको छ।
गृहमन्त्री सुधन गुरुङको सचिवालयले शुक्रबार सूचना जारी गर्दै कानुनविपरीतका गतिविधिमा संलग्न जोसुकैलाई प्रचलित कानुनअनुसार कारबाही गरिने जनाएको हो।
मन्त्रालयका अनुसार प्रहरी कर्मचारीको पदीय आचरण, गोप्य सूचना चुहावट तथा शान्ति सुरक्षामा प्रतिकूल असर पार्ने गतिविधिको निगरानी र विश्लेषण भइरहेको छ।
यसैबीच, संवेदनशील सूचना चुहावट गरेको आरोपमा गृह मन्त्रालयले सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशी राज दाहाललाई पदबाट बर्खास्त गरेको छ।
गृहमन्त्रीको सचिवालयका अनुसार दाहालमाथि पदीय आचरण उल्लङ्घन गरेको, अनुशासनहीन कार्य गरेको तथा नेपाल सरकार र आफू कार्यरत संगठनको प्रतिष्ठा एवं छविमा आँच पुर्याएको कसुरमा विभागीय कारबाही गरिएको हो।
सशस्त्र प्रहरी ऐन तथा नियमावलीले दिएको अधिकार प्रयोग गरी उच्च तहका अधिकारीमाथि विभागीय कारबाही गरिएको मन्त्रालयले जनाएको छ।
विधिको शासन, कानुनको पालना र सार्वजनिक शान्ति सुरक्षा कायम गर्न गृह मन्त्रालय प्रतिबद्ध रहेको उल्लेख गर्दै सचिवालयले कानुनविपरीतका गतिविधिमा संलग्न जोसुकैलाई पनि कारबाहीको दायरामा ल्याइने जनाएको छ।













प्रतिक्रिया दिनुहोस्