जनता टाइम्स

२३ आश्विन २०८३, शुक्रबार २१:५२

संवैधानिक जटिलता र आगामी निर्वाचनको तयारीमा केन्द्रित हुँदै सम्पन्न भयो एमाले सिन्धुलीको बैठक


सिन्धुली, असाेज २३ । नेकपा एमाले सिन्धुली जिल्ला कमिटीको बैठक संवैधानिक जटिलता, आगामी निर्वाचनको विश्लेषण, पार्टी संगठन सुदृढीकरण तथा नेपालीहरूका महान् चाड बडादसैँ, तिहार, छठ र बड्की एकादशीको शुभकामना आदानप्रदान गर्दै सम्पन्न भएको छ।

जिल्ला कमिटी अध्यक्ष महेन्द्रदेव श्रेष्ठको अध्यक्षतामा सम्पन्न बैठकमा नेकपा एमालेका केन्द्रीय सदस्य तथा सिन्धुली जिल्ला इन्चार्ज प्रदीप कटुवाल प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। त्यसैगरी, केन्द्रीय सदस्य विषमलाल अधिकारी तथा नेकपा एमाले बागमती प्रदेश कमिटीका अध्यक्ष कैलाश ढुंगेलको समेत बैठकमा उपस्थिति रहेको थियो। 

अध्यक्ष ढुंगेलले बैठकमा प्रमुख वक्ताका रूपमा आफ्नो धारणा राख्नुभएको थियो।

बैठकको सञ्चालन जिल्ला कमिटी सचिव नवराज थिङले गर्नुभएको थियो भने उपाध्यक्ष कर्ण घिसिङले स्वागत मन्तव्य राख्नुभएको थियो। कार्यक्रममा बागमती प्रदेश कमिटीका उपसचिव रमेश आचार्य र प्रदेश कमिटी सदस्य डम्बर कार्कीले पनि मन्तव्य व्यक्त गर्नुभएको थियो।

बैठकले पार्टी संगठनलाई थप सुदृढ, व्यवस्थित र प्रभावकारी बनाउने, मुलुकमा देखिएका संवैधानिक तथा राजनीतिक जटिलताको समाधानका लागि आवश्यक पहल गर्ने र आगामी निर्वाचनको तयारीलाई प्रभावकारी बनाउने विषयमा छलफल गर्दै विभिन्न निर्णय गरेको छ।

त्यसैगरी, जिल्लाका सबै स्थानीय तहमा चाडपर्वको शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्ने, पार्टी सदस्यता व्यवस्थापन तथा संगठनात्मक गतिविधिलाई व्यवस्थित बनाउने र जनताका समस्या समाधानका लागि सक्रिय भूमिका निर्वाह गर्ने निर्णय गरिएको छ।

बैठकले जनताको सुखदुःखमा साथ दिँदै जनताको सेवा र राष्ट्र निर्माणलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ। जनताको भरोसायोग्य र जिम्मेवार राजनीतिक शक्तिका रूपमा पार्टीलाई थप स्थापित गर्न संगठनात्मक गतिविधि प्रभावकारी बनाउनेमा पनि बैठकले जोड दिएको छ।

यसैबीच, नेकपा एमाले सिन्धुलीले बडादसैँ, तिहार, छठ तथा बड्की एकादशीका अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गरेको छ।