काठमाडौं, असोज २४ । नेपाली कांग्रेसका सभापति गगन थापालाई वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले शुभकामना दिनुभएको छ। उहाँले थापाको नेतृत्वमा सुरु भएको यात्रा लक्ष्य प्राप्तिको सुरुवात मात्रै भएको बताउनुभएको छ।
शर्माले पार्टीभित्रका फरक मत र मनहरूलाई जोड्दै विगतका कमजोरी सच्याउनुपर्ने र देशलाई गन्तव्यमा पुर्याउनुपर्नेमा जोड दिनुभएको छ।
सामाजिक सञ्जाल फेसबुकमा उहाँले लेख्नुभएको छ, ‘यात्राको सुरुवात हो, लक्ष्यको प्राप्ति होइन ! हिँड्नु धेरै छ हामीले, गन्तव्यमा पुर्याउनु छ देशलाई।’
चुनौतीको संयमपूर्वक सामना गर्नुपर्ने उल्लेख गर्दै शर्माले इतिहासप्रति इमानदार रहन, विगतका गौरवलाई पछ्याउन र कमजोरी सच्याउनुपर्ने बताउनुभएको छ। देशको समुन्नति सम्भव बनाउन सकिने विश्वास व्यक्त गर्दै उहाँले थापालाई बलियो नेतृत्वका लागि शुभकामना दिनुभएको छ।
‘गगनलाई अपार विश्वास र दृढ साथसहित म उभिएको छु, हामी लामबद्ध छौँ,’ शर्माले लेख्नुभएको छ, ‘लु ब्रदर– बलियो कमान्डका लागि शुभकामना !’
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट थापा शनिबार बिहान सभापतिमा निर्वाचित हुनुभएको हो। अन्य पदाधिकारीको मतगणना भने शनिबार दिउँसोदेखि सुरु हुने जनाइएको छ।













प्रतिक्रिया दिनुहोस्