काठमाडौं, असोज २४ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सभापतिबाहेकका पदाधिकारीको मतगणना आज दिउँसोदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा हुने भएको छ।
निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार मतगणना सुरु गर्नुअघि सबै पदाधिकारीका उम्मेदवारसँग छलफल गरिनेछ। उपसभापति र महामन्त्रीका उम्मेदवारलाई दिउँसो १ बजे सानेपामा बोलाइएको छ।
शुक्रबार भएको मतदानपछि सभापति पदको मतगणना काठमाडौंको राष्ट्रिय सभा गृहमा गरिएको थियो। त्यसमा गगनकुमार थापा ६ हजार ५८४ मत प्राप्त गर्दै सभापतिमा निर्वाचित हुनुभएको छ। उहाँका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गर्नुभएको थियो। ५४ मत बदर भएको थियो।
महाधिवेशनमा ७ हजार ३१७ प्रतिनिधि रहेकामा ७ हजार ३९ जनाले मतदान गरेका थिए। सभापतिबाहेकका पदाधिकारीको मतपेटिका भने पार्टी कार्यालय सानेपा लगिएको छ।













प्रतिक्रिया दिनुहोस्