जनता टाइम्स

२४ आश्विन २०८३, शनिबार ०८:४०

आश्विन कृष्ण औँसीमा सोह्र श्राद्ध समापन गरिँदै


काठमाडौं, असोज २४ । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज औँसीका दिन दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी समापन गरिँदैछ।

पितृ पक्षका १५ तिथि र आश्विन शुक्ल प्रतिपदासमेत गरी १६ तिथिमा श्राद्ध गरिने भएकाले यसलाई सोह्र श्राद्ध भनिन्छ। कुनै कारणवश पितृ पक्षका अन्य तिथिमा गर्नुपर्ने श्राद्ध रोकिएको भए आज औँसीका दिन गर्न सकिने शास्त्रीय मान्यता छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्राडा रामचन्द्र गौतमका अनुसार आज पनि श्राद्ध गर्न नसकिएमा आपत् धर्मअनुसार आश्विन शुक्ल प्रतिपदादेखि पञ्चमीसम्म गर्न सकिन्छ। त्यसपछि पनि सम्भव नभए कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन वा शास्त्रले तोकेका अन्य उपयुक्त दिनमा श्राद्ध गर्न सकिने व्यवस्था छ।

यस अवसरमा काठमाडौंको गोकर्णेश्वर उत्तरगया, नुवाकोट र रसुवाको सङ्गमस्थल बेत्रावती, देवघाट र त्रिवेणीलगायत तीर्थस्थलमा पितृको सम्झनामा श्राद्ध गर्नेको भीड लाग्ने गर्छ।

पितृ पक्षको समाप्तिसँगै दुर्गा पक्ष अर्थात् बडादसैँ सुरु हुन्छ। असोज २५ गते घटस्थापना गरेसँगै यस वर्षको दुर्गा पक्ष प्रारम्भ हुनेछ।