जनता टाइम्स

२४ आश्विन २०८३, शनिबार ०८:४३

६ दिन पैदल हिँडेर ल्याए भेडाच्याङ्ग्रा, बिक्रीको चिन्ता


काठमाडौं, असोज २४ । दसैँका लागि भेडाच्याङ्ग्रा बिक्री गर्न मुगुबाट हिँड्नुभएका किसान ३६ दिनको कठिन यात्रापछि म्याग्दीको गलेश्वर आइपुग्नुभएको छ। प्रतिकूल मौसम, हिमपात र सडक अवरुद्ध हुँदा यात्रा लम्बिएपछि उहाँहरूलाई अब समयमै बजारमा बिक्री गर्न पाइने हो वा होइन भन्ने चिन्ता छ।

मुगुको छायानाथ रारा नगरपालिका–६ का सञ्जय बिकसहित चार जनाको टोलीले दुई सय भेडाच्याङ्ग्रा ल्याउनुभएको छ। दसैँमा पोखरामा बिक्री गर्ने उद्देश्यले उहाँहरू भदौ १८ गते घरबाट हिँड्नुभएको थियो। डोल्पाको छार्कामा हिमपात भएपछि एक साता रोकिनुपरेको बिकले बताउनुभयो।

डोल्पाको काइके गाउँपालिकाका मानप्रसाद रोकायासहित सात जना किसान पनि सात सय भेडाच्याङ्ग्रा लिएर पोखरातर्फ लाग्नुभएको छ। बाढीपहिरो र सडक अवरोधका कारण उहाँहरूको यात्रा पनि प्रभावित भएको छ।

असोज दोस्रो साताको वर्षापछि आएको बाढीपहिरोले बेनी–जोमसोम सडक अवरुद्ध हुँदा भेडाच्याङ्ग्रा ढुवानीमा समस्या भएको छ। डोल्पाबाट मुस्ताङ आउने बाटोमा हिमपात हुँदा कतिपय किसानले पशु बजारसम्म ल्याउन सक्नुभएको छैन।

कृषि तथा पशुपन्छी विकास कार्यालय मुस्ताङका प्रमुख लालमणि अर्यालका अनुसार हालसम्म १० हजार भेडाच्याङ्ग्राको स्वास्थ्य परीक्षण गरी निकासी अनुमति दिइएको छ। गत वर्ष १८ हजार भेडाच्याङ्ग्रा निकासी भएका थिए। तातोपानी र रसुवा नाका बन्द हुँदा यस वर्ष ठूला सहरमा भेडाच्याङ्ग्रा आपूर्तिका लागि मुस्ताङ मुख्य मार्ग बनेको छ।

लामो यात्रा र सडक अवरोधका कारण किसान तथा व्यापारीको खर्च बढेको छ। मुस्ताङमा भेडा प्रतिगोटा ३२ देखि ३५ हजार रुपैयाँ र च्याङ्ग्रा करिब ४० हजार रुपैयाँमा खरिदबिक्री भइरहेको छ। बेनीमा भेडाको मूल्य करिब ३६ हजार र च्याङ्ग्राको ४५ हजार रुपैयाँ पुगेको व्यापारीले बताएका छन्।

मुस्ताङका उपल्लो क्षेत्रका किसानका लागि च्याङ्ग्रापालन मुख्य आयस्रोत हो। वारागुङ मुक्तिक्षेत्र, घरपझोङ, लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकामा करिब ५० हजार च्याङ्ग्रा पालिएका छन्। च्याङ्ग्राको भुवा पस्मिनाको कच्चा पदार्थका रूपमा प्रयोग हुन्छ।

हिमपात, चरनमा घाँसको अभाव र हिउँचितुवा तथा ब्वाँसोको आक्रमणजस्ता समस्यासँग जुध्दै आउनुभएका किसान दसैँमा बिक्रीबाट वर्षभरिको आम्दानी जुटाउने आशामा हुनुहुन्छ। तर, यसपालि लामो यात्रा, बढ्दो लागत र बजारमा बिक्री ढिलाइ हुँदा आम्दानी प्रभावित हुने चिन्ता उहाँहरूमा बढेको छ।