काठमाडौं, असोज २४ । नेपालीहरूको महान चाड बडादशैंको मुखैमा पहिरोले काठमाडौँ आवतजावत गर्ने तीनवटै मुख्य राजमार्ग अवरुद्ध भएका छन ।
सडक बिभागका अनुसार संघीय राजधानी काठमाडौं भित्रने र बाहिरिने पृथ्वी राजमार्ग, बीपी र कान्ती लोकपथ पहिरोले अवरुद्ध भएका छन । यी सडक काठमाडौँका मुख्य लाइफ लाइन मार्ग हुन्। लाइफ लाइन सडक नै दशैंको मुखमा राजमार्ग बन्द हुँदा नागरिकले निकै ठूलो सास्ती खेप्नुपरेको छ ।
सडक बिभागका अनुसार हाल धादिङको गजुरी गाउँपालिका–५ गलौदीमा सडकमा पहिरो जाँदा शुक्रबार साँझदेखि नै पृथ्वी राजमार्ग अवरुद्ध छ । त्रिशूलीले सडक कटान गर्दा यो खण्डमा सवारी साधन चलाउनै नमिल्ने गरी सडक चिराचिरा परेको छ ।
चिराचिरा परेको कारण हिजो देखि नै यो सडकमा आवतजावत पूर्णरुपमा बन्द गरिएको प्रहरीले जनाएको छ ।
यसैगरी ललितपुरको बागमती गाउँपालिका–३ टाकुर्चेमा पहिरो खस्दा शनिबार बिहानदेखि कान्तिलोकपथ पनि अवरुद्ध भएको प्रहरीले जनाएको छ । त्यस्तै काभ्रेको रोसी गाउँपालिका–९ पिन्थलीबेँसीमा गएरातिको वर्षाले लेदोसहितको पहिरो खसेपछि बीपी राजमार्ग पनि पूर्ण रूपमा बन्द भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार पहिरो हटाएर राजमार्ग खुलाउने प्रयास जारी छ । तर निरन्तर वर्षा भइरहेकाले पहिरो पन्छाउन असहज भएको प्रहरीको भनाई छ। काठमाडौं आवतजावत गर्ने यिनै तीन सडक हुन ।
तीनवटै सडक बन्द भएपछि दशैंको मुखमा घर हिडेका यात्रुले ठूलो सास्ती पाएका छन । सडक कहिले खुल्ने भन्ने यकिनसमेत हुन सकेको छैन । मुख्य राजमार्गहरु बाढी पहिरोले बन्द हुँदा दसैँ मनाउन काठमाडौँबाट घर हिँडेका हजारौँ यात्रु बिचबाटोमै अलपत्र परेका छन्। वर्षा जारी रहेकाले अन्य राजमार्गमा पनि पहिरो खस्ने जोखिम कायमै छ।
राजमार्गका अन्य स्थानमा पनि अवरोध हुनसक्ने भएकाले सडकको अवस्था बुझेर मात्र यात्रा गर्न र वैकल्पिक मार्ग प्रयोग गर्न पनि प्रहरीले अनुरोध गरेको छ।













प्रतिक्रिया दिनुहोस्