जनता टाइम्स

२४ आश्विन २०८३, शनिबार १५:३८

इतिहासको ब्याज खान आएका होइनौं, नयाँ इतिहास रच्छौं : गगन थापा


काठमाडौं, असोज २४ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको गौरवशाली इतिहासमा मात्र निर्भर नभई नयाँ इतिहास रच्ने प्रतिबद्धता जनाउनुभएको छ।

सभापतिमा पुनः निर्वाचित भएपछि पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेर सम्बोधन गर्दै थापाले युवामाझ कांग्रेसलाई नयाँ आशा र भरोसाको पार्टीका रूपमा स्थापित गर्ने बताउनुभयो।

“नौजवानहरूको बीचमा गएर हामी भन्नेछौं– नेपाली कांग्रेससँग गौरवशाली इतिहास छ, तर हामी इतिहासको ब्याज खान आएको होइन, हामी इतिहासलाई रटेर पनि बस्दैनौं,” उहाँले भन्नुभयो, “हामी नयाँ इतिहास आफैं रच्छौं।”

अधिवेशनबाट नयाँ इतिहास रच्ने तागत लिएर आएको उल्लेख गर्दै उहाँले युवालाई कांग्रेसप्रति आकर्षित गर्ने बताउनुभयो।

थापाले किसान, उद्यमी र वैदेशिक रोजगारीमा रहेका नेपालीले समेत भरोसा गर्न सक्ने पार्टीका रूपमा कांग्रेसलाई विकास गर्ने प्रतिबद्धता जनाउनुभयो।

किसानका समस्या उठाउने, उद्यमीले गुमाएका अवसर पुनः प्राप्त गर्न सहयोग गर्ने र वैदेशिक रोजगारीमा रहेका नेपालीका परिवारका मुद्दा सम्बोधन गर्ने पार्टीका रूपमा कांग्रेसलाई स्थापित गरिने उहाँको भनाइ छ।

“एउटा किसानले नेपाली कांग्रेसलाई हेर्दै गर्दा मेरो विषय उठाइदिने पार्टी भनेर चिन्नेछ। एउटा उद्यमीले मेरो खोसिएको अवसर मलाई पुनः दिलाइदिने पार्टी भनेर चिन्नेछ,” उहाँले भन्नुभयो।

वैदेशिक रोजगारीमा रहेका नेपालीले पनि आफ्नो घरपरिवारका विषयमा आवाज उठाइदिने पार्टीका रूपमा कांग्रेसलाई भरोसा गर्न सक्ने वातावरण बनाउने उहाँले बताउनुभयो।