काठमाडौं, २४ असोज । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पार्टीप्रति असन्तुष्टि जनाउँदै टाढिएका नेता, कार्यकर्ता, समर्थक र शुभचिन्तकलाई पुनः पार्टीमा फर्काउने प्रतिबद्धता जनाउनुभएको छ।
शनिबार १५औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित भएपछि पार्टी केन्द्रीय कार्यालय सानेपामा सम्बोधन गर्दै थापाले कांग्रेसलाई सबैको भरोसाको पार्टी बनाउने बताउनुभयो।
विगतमा कांग्रेसलाई माया गरे पनि पार्टीका कामप्रति चित्त नबुझाएर टाढिएका लाखौँ समर्थकलाई पुनः जोड्ने उहाँको भनाइ छ।
“जो साथीहरू नेपाली कांग्रेस पार्टीमा हुनुहुन्थ्यो, पार्टीका नेताहरूमात्रै होइन, शुभचिन्तक, समर्थक र वर्षौंसम्म कांग्रेसलाई माया गरेका तर केही वर्षअघिदेखि हामीले गरेका काम चित्त नबुझाएर छाडेर जानुभएका साथीहरूलाई हामी फर्काउँछौं,” थापाले भन्नुभयो।
उहाँले कांग्रेसको कार्यालय, घर र परिवारमा पुनः फर्किन मन लाग्ने वातावरण बनाउने संकल्पका साथ नयाँ यात्रा सुरु गर्ने बताउनुभयो।
“ती साथीहरूलाई नेपाली कांग्रेसको कार्यालय, नेपाली कांग्रेसको घर, नेपाली कांग्रेसको परिवारमा आउँ–आउँ लाग्ने बनाएरै छाड्छौं भन्ने संकल्पबाट हामी यात्रा प्रारम्भ गर्छौं,” उहाँले भन्नुभयो।
थापाले पार्टीको काम गर्ने शैली परिवर्तन गर्दै वर्तमान नेतृत्वप्रति भरोसा गर्ने नेता तथा कार्यकर्ताको विश्वास अझ बलियो बनाउने प्रतिबद्धता पनि जनाउनुभयो।
उहाँका अनुसार पार्टीभित्रका साथीहरूको विश्वास बढाउँदै असन्तुष्ट पक्षलाई समेत समेटेर कांग्रेसलाई थप एकताबद्ध बनाउने प्रयास गरिनेछ।













प्रतिक्रिया दिनुहोस्