जनता टाइम्स

२४ आश्विन २०८३, शनिबार १५:४४

सरकार अधिनायकवादी बाटोमा अघि बढ्न खोज्यो : शंकर पोखरेल


काठमाडौं, असोज २४ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकार स्वेच्छाचारी शासन र अधिनायकवादी बाटोमा अघि बढ्न खोजेको आरोप लगाउनुभएको छ।

एमाले बागमती प्रदेश सम्पर्क कमिटीले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै पोखरेलले पर्याप्त तथ्य र प्रमाणबिना पक्राउ गर्ने तथा सुरक्षाका नाममा नियन्त्रणमा लिइएका व्यक्तिलाई भेटेको आधारमा सुरक्षाकर्मीलाई पदमुक्त गर्ने कार्य गलत भएको बताउनुभयो।

यस्ता गतिविधिले सरकार संविधान र कानुनको बाटोमा नभई स्वेच्छाचारी शासनतर्फ अघि बढ्न खोजेको देखाउने उहाँको आरोप छ।

लामो लोकतान्त्रिक संघर्षबाट गुज्रिएको मुलुकलाई स्वेच्छाचारी र अधिनायकवादी शासनतर्फ जानबाट रोक्ने मुख्य जिम्मेवारी एमालेसहितका राजनीतिक दलहरूको भएको पोखरेलले बताउनुभयो।

छिमेकी मुलुकसँगको सम्बन्धलाई असुरक्षित र असंस्कृत बनाउँदै अघि बढ्दा त्यसको असर नेपालको सार्वभौमसत्ता र राष्ट्रिय अस्मितामा पर्न सक्ने उहाँको भनाइ छ।

पोखरेलले पार्टीलाई जनतासँग थप जोड्न विगतका कमजोरी सुधार गर्दै अघि बढ्नुपर्नेमा पनि जोड दिनुभयो।